‘शिक्षा क्षेत्र देश बनाउने ठाउँ हो, पढाउन नसक्नेले पेशा छाड्नुस्’

असार ९, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्र देश बनाउने ठाउँ भएको भन्दै पढाउन नसक्ने शिक्षकलाई पेशा छोड्न आग्रह गरेका छन् ।
सोमबार चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले पढाउन नसक्ने शिक्षकले ठाउँ ओगटेर बस्न नहुने बताए ।
null
शिक्षक भर्ना गर्दा शिक्षक सेवाबाट उत्तीर्ण भएकालाई गर्नुपर्नेमा जोड दिँदै उनले आफन्त, नातागोता र खल्तीबाट झिकेर शिक्षक भर्ना नगर्न आग्रह गरे ।
कार्यक्रममा उनले भने, ‘शिक्षा क्षेत्र जागीर खाएर बस्ने ठाउँ होइन, यो सक्षम नयाँ पुस्ता बनाउने र भोलिको देश बनाउने ठाउँ हो, अबको सार्वजनिक शिक्षा प्रभावकारी हुनुपर्छ । प्रभावकारी शिक्षण सिकाइ गर्न नसक्ने शिक्षकले ठाउँ ओगटेर बस्नु हुँदैन । पढाउन सक्दिन भन्ने लाग्छ भने ठाउँ खाली गरिदिनुस्, नयाँ पुस्ता आउँछन् ।’
विद्यार्थीको क्षमताको पहिचान गरेर शिक्षकले पढाउनुपर्ने उनको भनाइ छ । गुणस्तरहीन भयो भन्दै सरकारी सार्वजनिक शिक्षाको हुने गरेको स्पष्ट पार्दै उनले कमजोर विद्यार्थीको जिम्मा अब शिक्षकले लिनुपर्नेमा जोड दिए ।
मन्त्री पोखरेलले देशभर अहिले पनि करिब सात लाख शिक्षण अध्यापन अनुमतिपत्र लिएर बसेका शैक्षिक बेरोजगार भएको बताउँदै उनले शिक्षकले अधिकार मात्रै खोज्ने नभई कक्षाकोठाको सिकाइ उपलब्धि वृद्धि गर्नुपर्ने बताए ।
नेपालको शिक्षा प्रणाली अझैपनि घोकन्ते विद्यामै सीमिति रहेको गुनासो गर्दै मन्त्री पोखरेलले भने, ‘एउटा विद्यार्थीलाई कक्षा कोठामा वर्षभरि घोकाउने र तीन घण्टाको परीक्षामा सीमित गरेर मूल्याङ्कन गर्ने शिक्षा प्रणाली नै गलत छ ।’








