शनिबारदेखि उपत्यकाका तीन अस्पतालबाट कोरोना परीक्षण

चैत्र २९, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा थप दुई ठाउँमा कोरोनको परीक्षण गर्ने भएको छ। शनिबार नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वीर अस्पताल र टेकु अस्पतालमा पनि कोरोनाको परीक्षण गरिने बताए।
हाल उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरसको परीक्षण हुँदै आएको थियो। योसँगै अब काठमाडौंमै कोरोना परीक्षण प्रयोगशाला तीन ठाउँमा सञ्चालन भएको उनले बताए।
हालसम्म देशभरी ४ हजार ४ सय २६ कोरोनाको नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा देशभरमा ८ सय ९७ जनाको नमुना परीक्षण भएको छ। शनिबारसम्म मुलुकभर ८२ जना आइसोलेसनमा र ८ हजार ८२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले पछिल्लो एकसाताको परीक्षणका क्रममा नयाँ संक्रमित नभेटिएको जनाएको छ। ‘समुदायमा संक्रमण फैलिएको छ कि छैन भनेर अहिले परीक्षणको दायरा बढाइएको हो,’ प्रवक्ता डा. देवकोटाले भने, ‘सर्वसाधारणले पनि लकडाउनको पालना गरेर सहयोग गरे जोखिमबाट बच्न सहज हुन्छ।’
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले देशभर र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) शुरू गरेकोसमेत उनले जानकारी गराए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जिल्लाहरूमा कीटको माध्यमबाट परीक्षण थालिएको जनाएको हो।
जसमध्ये ९ जनामा मात्र कोरोना संक्रमण देखिएको छ। एकजना निको भएर डिस्चार्ज भएका छन्। संक्रमित आठ जनामध्ये चारजना धनगढीस्थित सेती अस्पताल र अन्य चारमध्ये बागलुङमा दुई र टेकुमा दुईजनाको उपचार भइराखेको छ।










