डुम बस्तीमा छैन चुनावको चर्चा

मङ्सिर ११, लहान । सिरहाको लहानस्थित चोक चौराहा, होटेल र पसललगायत स्थानमा आसन्न निर्वाचनको चर्चा व्यापकरुपमा भइरहँदा लहान बजारसँगै टाँसिएको डुम बस्तीमा भने चुनावको कुनै रौनक देखिएको छैन । आगामी मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पनि अहिलेसम्म कुनै उम्मेदवार
भाेट माग्न लहान नगरपालिका–१ मटिर्वास्थित उक्त डुम बस्तीमा पुग्न सकेका छैनन् ।

“अहिलेसम्म उम्मेदवार आएका छैनन्, मतदान गर्न सिकाउन समेत कोही आएका छैनन्,” स्थानीयवासी विजय मरिकले भने, “उम्मेदवार को को हुनुहुन्छ केही थाहा छैन ।”

सँगुर पाल्ने र बाँसका सामग्री बनाएर बिक्री गरी जीवन धान्दै आएका सात घर डुम परिवारमा २०–२१ जनाको बसोबास रहेको छ । ऐलानी जमिनमा घर बनाएर बस्दै आएका उनीहरूको मतदाता सङ्ख्या १० रहेको छ । उम्मेदवार आफ्नो घरदैलोमा नआएकामा उनीहरूले गुनासो गरेका छन् ।

स्थानीयवासी चपली मरिकले भने, “हामीलाई भरोसा बाँड्छन्, धम्क्याएरै भोट लिन्छन् ।” गरिबी, अशिक्षा र चेतनाको अभावमा बाँचेको डुम समुदायको भोटले धेरै नेताको जिन्दगी फेरिए पनि उनीहरूको अवस्था दयनीय छ ।

“स्थानीय तह चुनावपछि बस्तीमा बाटो बन्छ, नागरिकता सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, अस्पतालमा निःशुल्क उपचार हुन्छ भनेर भोट हालेको थिएँ, रेणु मरिकले भने, “जितेर गएकाहरु कोही फर्केर आएनन्, अवस्था उस्तै छ ।”

दलित समूहमा सूचीकृत डोम र मुसहर जाति बसोबास गर्ने बस्तीमा अधिकतम परिवारका सदस्यका नाममा जग्गा छैन । “घर पनि ऐलानी जग्गामै छ, स्थानीयवासी चपली मल्लिकले भने, “हामी तीनचार पुस्तादेखि यसै ठाउँमा बस्दै आएका हौँ तर हामीसँग जग्गाको कुनै प्रमाणपूर्जा छैन । प्रत्येक चुनावमा भोट माग्न आउने नेताले जीवनस्तर फेरिदिन्छौँ भन्छन् तर, हाम्रो जीवनस्तर फेर्नेगरी कहिल्यै उनीहरूले काम गरेनन् ।”

“सधैँ भरोसा बाँडेर भोट लिने तर कहिल्यै फर्केर बुझ्न नआउने नेतालाई यसपालि हामी भोट हाल्दैनौँ, शिवा मल्लिकले भन्नुभयो, “हाम्रो बस्तीमा सामुदायिक भवन, बाटोघाटो र शौचालय बनाइदिने उम्मेदवारलाई मत दिने सोचमा हामी छौँ ।”

लहान नगरपालिका निर्वाचन क्षेत्र नं १ मा पर्छ । यस क्षेत्रमा नेपाली काँग्रेसबाट प्रदीप गिरी, वाम गठबन्धनको तर्फबाट एमालेका गंगाप्रसाद यादव, फोरम–राजपा गठबन्धनबाट सङ्घीय समाजवादी फोरम नेपालका राजलाल यादवलगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कूल ३० वटा मतदान केन्द्र रहेको क्षेत्र नं १ मा पुरुष ४६ हजार ३२४ र महिला ४१ हजार ७४९ गरी ८० हजार ७२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =