मधुमेह र कोभिड-१९

मधुमेह के हो ?
शरीरमा उर्जा उत्पादनको लागि ग्लुकोज अति आवश्यक हो । ग्लुकोज शरीरको कोष भित्र छिर्न इन्सुलिन हार्मोनले सहायता गर्दछ । जब शरीरमा इन्सुलिन हार्मोनको उत्पादन रगतमा प्रयाप्त हुँदैन वा इन्सुलिन प्रयाप्त हुँदा पनि काम गर्न छोड्छ, तव शरीरमा चिनीको मात्रा अत्याधिक बढेर जान्छ । त्यसलाई नै मधुमेह भनिन्छ ।
नेपालमा मधुमेह रोगीहरु धेरै छन् जसमध्ये धेरै जनामा सुगरको मात्रा लक्ष्य भन्दा धेरै बढी छ ।

कोभिड-१९ को जोखिममा रहेको जनसंख्याहरु कुन हो ?
विश्व स्वास्थ्य संगठनको भनाइ अनुसार ,
• मधुमेहका राेगी
• उच्च रक्तचापका राेगी
• हृदय रोगका राेगी
• क्यान्सरका राेगी
• बृद्ध व्यक्तिहरू
इटली र चीनमा गरिएको अध्ययन (University of Birmingham, Edgbaston, UK, BMJ; 2020) अनुसार धुम्रपान सेवन गर्ने व्यक्ति, उचाइ अनुसार तौल बढी (BMI>40 kg/m2) भएको व्यक्ति, पुरुषहरु कोभिड-१९ को उच्च जोखिममा रहेका छन् ।
मधुमेह रोगीहरु कोभिड-१९ को जोखिममा किन छन् ?
२८ फेव्रुअरी २०२० मा प्रकाशित विश्व स्वास्थ्य संगठन र चीनको संयुक्त अध्ययन अनुसार कोभिड-१९ बाट हुने मृत्यु दर पुरुष (२/३), ६० बर्ष माथिका बृद्ध बृद्धा (८०%), मुटु, मधुमेह र क्यान्सर रोगीहरु (७५%) मा बढी हुन्छ ।
मधुमेह विरामीहरुमा प्रतिरोधात्मक क्षमता कम हुन्छ, जसले उनीहरुलाइ संक्रमणको लागि अत्याधिक संवेदनशिल बनाउँदछ । त्यसैले कुनै जिवाणु सँग लड्ने क्षमता कम हुन्छ । साथै मधुमेह विरामीहरुमा मृगौलाको जटिलता, हृदयरोग र अन्य रोगहरु पनि हुन्छ । त्यसैले मधुमेह विरामीहरु कोरोना भाइरस बाट संक्रमित हुने सम्भावना उच्च हुन्छ । नेपालको अधिकांश जनसंख्या मधुमेहको स्वयं व्यवस्थापन शिक्षा (Diabetes Self Management Education) बाट बञ्चित छ । त्यसैले वर्तमान अवस्थामा मधुमेहका विरामीहरु काेराेना भाइरसबाट बढी सचेत हुनु पर्दछ ।
के मधुमेह रोगीहरुमा कोभिड-१९ का जटिलताहरु बढी हुन्छ ?
मधुमेह रोगीहरुमा कोभिड-१९ का जटिलताहरु बढी हुन्छ । उनीहरुमा जिवाणु सँग लडने क्षमता कम हुन्छ । यदि शरीरमा चिनीको मात्रा नियन्त्रण गरिएन भने मधुमेह सम्बन्धि जटिलता हुन सक्छ । मधुमेहका साथै हृदय रोग र अन्य जटिलता भएमा मधुमेह रोगीहरुमा कोभिड-१९ का गम्भिर अवस्था देखिन सक्छ ।
कोभिड-१९ बाट बच्ने उपायहरु के हो ?
• हातलाई पटक पटक साबुन पानी वा Hand Sanitizer ले कम्तीमा २० सेकेन्ड सम्म धुने गर्नुहोस् ।
• हात नधोइकन आँखा, नाक र मुखलाई छुने नगर्नुहोस् ।
• घरको सतह तथा अन्य बारम्बार छुने सामानहरु किटनाशक (Disinfectant) प्रयोग गरी नियमित सफा गर्नुहोस् ।
• खोक्दा वा हाच्छ्युं गर्दा Disposable Tissue प्रयोग गर्नुहोस् वा पाखुराले छेक्नुहोस् ।
• Disposable Tissue प्रयोग गरेपछि ढकन सहितको डस्टबिनमा फाल्नुहोस् र हात धनुहोस् ।
• हात नमिलाउनुहोस्, नमस्कार गर्नुहोस् ।
• घरमा बस्नुहोस्, सामाजिक दुरी (कम्तीमा ३ फीट) कायम गर्नुहोस् ।
• सरकारद्वारा जारी निर्देशनहरुको पालन गर्नुहोस् ।
• सहि सुचना दिने माध्यमबाट सुचना लिनुहोस् र गलत सुचनाबाट बच्नुहोस् ।
कोभिड-१९ बाट बच्न मधुमेह रोगीहरुले विशेष के कुरामा ध्यान दिनु पर्छ ?
• आवश्यक परेमा सम्पर्क गर्नु पर्ने नजिकको चिकित्सक, एम्बुलेन्स र आफन्तको सम्पर्क विवरण अध्यावधिक गरेर राख्नुहोस् ।
• मधुमेह नियन्त्रणको लागी खाइरहेको औषधि नछुटाइकन नियमित सेवन गर्नुहोस् ।
• रगतमा चिनीको मात्रा कम वा बढी भएर हुने जटिलता बाट बच्न नियमित रुपमा चिनीको जाँच गराउनुहोस् ।
• होम क्वारेन्टाइनमा बस्न आवश्यक पर्ने मधुमेह नियन्त्रणको लागि खाइरहेको औषधि प्रयाप्त मात्रामा आफू सँग राख्नुहोस् ।
• आवश्यक खानेकुराको आपुर्तिको सुनिश्चत्ता गर्नुहोस् ।
• रगतमा चिनीको मात्रा कम भएमा त्यसको व्यवस्थापन गर्ने सक्ने गरी तयारी गर्नुहोस् ।
• यदि तपाइ एक्लै बस्नुहुन्छ भने तपाईलाई विरामी परेको बेला सहयोग गर्न सक्ने बिश्वासिलो व्यक्तिलाई तपाईलाई मधुमेह छ भनि जानकारी गराइराख्नुहोस् ।
• तालिका बनाई सोहि अनुसार नियमित रुपमा खानपिन तथा अराम गर्नहोस् ।
• अत्याधिक कडा काम नगर्नुहोस् र कम्तीमा राती ८ घण्टा सुत्नुहोस् ।
• यदि तपाइलाई फ्लु जस्तो लक्षण (ज्वरो, खोकी, सास फेर्न गाह्रो) देखिएमा चिकित्सक सँग परामर्श लिनुहोस् ।
• चिनीरहित पानी (Sugar Free Water) प्रशस्त सेवन गर्नुहोस् (प्रति घण्टा १०० मि. ली. पानी र प्रति दिन कम्तीमा २.५ ली. पानी )
स्वस्थ्य पोषण
• चिनी कम हुने खाना (तरकारी, फलफूल, गेहु/पास्ता/नुडल्स) बढी प्राथमिकता दिनुहोस् ।
• दिनमा कम्तीमा २.५ ली. पानी पिउनुहोस् ।
• तारेको/भुटेको खानेकुरा अत्यधिक सेवन नगर्नुहोस् ।
• चिनी, कार्बोहाइड्रेड र बोसो बढी पाइने खाध्यपदार्थको सेवन सिमित मात्रामा मात्र गर्नुहोस् ।
• प्रोटिन पाइने खानेकुरा (राम्ररी पकमएको माछा, मासु, अण्डा, दुध, गेडागुडी अत्यधिक सेवन गर्नुहोस्।
• हरियो सागपात प्रशस्त खाने गर्नुहोस् ।
• फलफूल दैनिक खाने गर्नुहोस् ।
• धुम्रपान तथा मद्यपानको सेवन नगर्नुहोस् ।
व्यायाम
कोभिड-१९ महामारीका कारण सवै जना होम क्वारेन्टानइनमा रहेको अवस्थामा सामान्य व्यक्ति तथा मधुमेह रोगीले नियमित शारीरिक व्ययाम गर्नु लाभदायक हुन्छ ।
होम क्वारेन्टानइनमा हुँदा गर्नुपर्ने व्यायाम
• कम्तिमा ६ तल्ला बराबरको सिढीमा ८ चोटी तल माथी हिड्नुहोस् ।
• स्किपिङ्ग, Push Up, Flank गर्नुहोस् ।
• कम तौल भएका घरेलु समानहरु जस्तो पानी भरिएको बाल्टिन तथा बोतल आदी प्रयोग गर्नुहोस् ।
मधुमेहका विरामीमा कोभिड-१९ का शंकास्पद लक्षण देखिएमा चिकित्सक लाई जानकारी गराउनु पर्नेकुरा
• कोभिड-१९ का शंकास्पद लक्षण (ज्वरो १००.४०F आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने)
• तपाइको सुगरको मात्रा
• तपाइको Ketone Body (संभव भएमा)
• दैनिक पिउने पानीको मात्रा
• अहिले खाइरहेको औषधिको नाम र मात्रा
MBBS, MD (Endocrinology) (BSMMU, Bangladesh)
मधुमेह, थाइरोइड र हर्मोन विशेषज्ञ
विराट मेडिकल कलेज शिक्षण अस्पताल
विराटनगर नेपाल










