देशै भरीका मतदातालाई ओलीको हवाईपत्र

“
मंसिर ६, काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईँहरू सबैलाई हवाई पत्र पठाउनेछु । तपाईँको घरघरमा त्यो हवाईपत्र आउँदैछ ।’
आफ्ना सम्बोधनमा उखानटुक्का, व्यङ्ग र गीत–कविताहरुको प्रयोगबाट ठट्टासमेत गर्ने ओलीको यो भनाइलाई त्यस्तै एउटा ठट्टाको रूपमा धेरैले बुझेका थिए । तर, साँच्चिकै गाउँगाउँका मतदाताका नाममा ओलीको तर्फबाट हवाईपत्र पुग्न थालेको छ । इन्टरनेटको प्रयोगले हस्तलिखित चिठीलाई समेत इतिहास बनाएको बेला ओलीको हस्ताक्षरसहितको पत्र गाउँगाउँमा पुर्याइएको छ ।
खासमा हवाई पत्र भनेको त्यस्तो पत्र हो, जुन बनिबनाउ खामसहितको कागजमा लेखिएको हुन्छ । १५–२० वर्षअघि प्रचलनमा रहेको यस्तो पत्रमा छुट्टै टिकट टाँस्नु पर्दैनथ्यो, छुट्टै खाम र कागजपनि चाहिन्नथ्यो । दुई पाने कागजलाई फोल्डिङ गर्न मिल्थ्यो, टिकट त्यसैमा हुन्थ्यो, पत्र पठाउने र पाउनेको नाम सहित चिठीमा के के लेख्ने हो, त्यसका लागि ठाउँ छुट्टयाएको पनि हुन्थ्यो । १ रुपियाँमा पाइने हवाई पत्र किनेपछि त्यसमा के लेख्ने हो, लेखेर पाउने व्यक्तिलाई हुलाकमार्फत् पठाउन सकिन्थ्यो ।ओलीले देशभरिका मतदातालाई पठाएको पत्रको पहिलो अनुच्छेदमा गाउँले पत्र लेखनकै शैलीमा नै आराम रही आरामको कामना गरेका छन् । भेट्ने इच्छा हुँदा हुँदै सम्भव नभएपछि पत्र लेखन मार्फत् आफ्ना कुरा भन्न खोजेको प्रष्टिकरण दिएका छन् ।
अभिवादन र सञ्चो विसन्चोको औपचारिकता पुरा गरेपछि ओली सिधै निर्वाचनका विषयमा केन्द्रित भएका छन् । उनले निर्वाचनलाई पूर्ण रूपमा सदुपयोग गर्नु सबैको कर्तव्य र दायित्व रहेको बताउँदै संविधान कार्यान्वयनका लागि निर्वाचनमा सहभागी हुनुपर्ने समय आएको प्रस्ट गरेका छन् । तेस्रो अनुच्छेदमा भनेका छन्, ‘हामीसँग भएको सम्पदाको सदुपयोग गर्न सके हामी संसारमै धनी हुन सक्ने देशका नागरिक हौँ । संसारले भन्छ, सिंगै नेपाल एउटा पर्यटनको केन्द्र हो ।’ यो अनुच्छेदमा ओलीले नेपालमा विदेशी पर्यटकको घुइँचो लगाउनेदेखि रोजगारी सिर्जना गरेर सबै नेपालीलाई रोजगार दिन सक्ने अवस्था बारे दाबी गरेका छन् ।
नेपालको अथाह सम्भावनाका विषयमा एउटा चिट्ठीमा उल्लेख गर्न नसकिने बताउँदै ओलीले घोषणापत्र पढ्न पनि आग्रह गरेका छन् । भनेका छन्, ‘मुलुकको विकास निर्माणका अनेकौँ पाटाहरुका बारेमा यो सानो चिट्ठीमा लेखेर कहाँ अटाउन सकिन्छ र ? हामीले यस विषयमा हाम्रो घोषणा पत्रमा विस्तारमा लेखेका छौँ । समय मिलेमा त्यो पनि पढ्नु होला ।’
पत्रको दोस्रो पृष्ठमा एमाले–माओवादी केन्द्रबीचको एकताको उद्देश्य प्रस्ट पार्ने प्रयास गरेका छन् ओलीले । नेपालीको सुख सम्बृद्धिका लागि एकता हुन लागेको बताउँदै ओली लेख्छन्, ‘तपाईंहरुकै चाहना र शुभेच्छाले नेपालमा एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बन्ने अवस्था आएको हो । यसका लागि तपाईँहरू सबै धन्यवाद तथा बधाईका पात्र हुनुहुन्छ ।’
चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘कम्युनिष्टहरुको सरकार बने रुन पनि नपाइने’ दाबी गरेका थिए । ओलीले पत्रमा भनेका छन्, ‘ढुक्क हुनुहोस्, वामपन्थीहरुको सरकार बन्यो भने तपाईँहरूले पछुताउनु पर्ने छैन । हाम्रा सन्ततिहरुले रुनुपर्ने छैन । मुलुकले अवश्य काँचुली फेर्नेछ । तपाईँ हाम्रो शिर गर्वले ठडिनेछ ।’ कसैले कम्युनिष्टहरुलाई यस्तो आरोप लगाए त्यसबारे प्रश्न सोध्नपनि भनेका छन् ओलीले । ‘वामपन्थीहरुको सरकार बन्यो भने अधिनायकवाद आउँछ, रुनपनि पाइँदैन भनेर भ्रम छर्ने साथीहरूलाई प्रश्न गर्नुहोस्, तपाईँहरू त कम्युनिस्ट सरकार आयो भने बुढाबुढीलाई गोली ठोकेर मार्छ भन्नुहुन्थ्यो,
उल्टै वामपन्थी सरकारले त बुढाबुढीलाई आफ्नै बाआमालाई जस्तै स्याहारसुसार पो गर्यो त ! त्यति भन्नुभयो भने उनीहरू नाजवाफ हुनेछन् ।’
२५ कार्तिकको मिति राखिएको पत्र ओलीले यसरी टुङ्ग्याएका छन्, ‘अन्तमा यहाँहरु सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको दिगो विकासलागि बामगठबन्धनको महाशक्तिलाई मतदान गर्नुहोस् र सम्बृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौंला ।’
“








