बिरामी बोकेको नोवेल अस्पतालको बसमाथि आक्रमण सात बिरामी घाइते, दुई पक्राउ

“
मङ्सिर ५, मोरङ । बिरामी बोकेर विराटनगरबाट पथरी गइरहेको नोवेल मेडिकल टिचिङ अस्पतालका बसमाथी ढुङ्गा प्रहार भएको छ । आज साँझ करिब ६ बजेको हाराहारीमा मोरङ सुन्दर हरैंचा, पचाम भन्ने स्थानमा करिब १२–१५ जनाको समूहमा आएकाले ढुङ्गा प्रहार गरेका हुन् ।
विराटनगर स्थित नोवेल मेडिकल टिचिङ अस्पतालमा पथरीबाट निःशुल्क स्वास्थ्योपचारका लागि गएका बृद्धबृद्धा र अशक्तहरु चढेको तीन ओटा बस मध्ये दुई ओटामा ढुङ्गा प्रहार भएको इलाका प्रहरी कार्यालय विराटचौकका प्रहरी निरिक्षक रामजी कटुवालले बताए ।
ढुङ्गा प्रहारबाट बसमा सवार सात आठ जना बिरामी घाइते भएकोनोवेल मेडिकल टिचिङ अस्पतालका चिकित्सक डा. देव घिमिरेले बताए । उनले बिहान पथरीबाट निःशुल्क स्वास्थ्योपचारका लागि लिएर गएका बिरामीलाई उपचारपछि घर फर्काउने क्रममा अज्ञात समूहबाट विराटचौकमा आक्रमण गरेको भन्दै छानबिनका लागि प्रहरीमा जाहेरी दिएका छन् ।
ढुङ्गा प्रहारबाट ना ७ ख ५७४७ को बसको पछिल्लो भागको सिसा पूर्ण क्षति भएको छ, भने, को १ ख १०९३ नंं.को बसको पछाडिको भाग कुच्चिएको बसमा सवार चिकित्सक डा. घिमिरेले बताए । ढुङ्गा प्रहार पछि बसमा सवार बिरामीले घटनाकाे निन्दा गर्दै नाराबाजी गर्दै १ घण्टा विराटचाैक बन्द गराएका थिए ।
गुडिरहेको बसमाथी आक्रमण भएको थाहा पाएपछि हरैचा स्थित इलाका प्रहरी कार्यालयका प्रहरीहरुले घटनास्थलबाट बसमा सवार बिरामीलाई ‘रेस्क्यू’ गरेका थिए । घटनामा संलग्न भएको भन्दै प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको विराटचोक प्रहरी कार्यालयका प्रहरी निरिक्षक कटुवालले बताए । प्रहरीले मोरङ सुन्दरहरैचा वडा नं. १ बस्ने वर्ष १९ को प्रशान्त बास्तोला र सोही स्थानको वडा नं. ११ बस्ने वर्ष २३ को दिपेश लिम्बुलाई प्रक्राउ गरेको छ ।
केही महिना यता नोवेल मेडिकल टिचिङ अस्पतालले मोरङका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । उक्त शिविर नोवेल मेडिकल टिचिङ अस्पतालका पूर्व निर्देशक सुनिल शर्मा (जो हाल मोरङ क्षेत्र नं. ३ बाट नेपाली काँग्रेसका प्रतिनिधिसभा निर्वाचन उम्मेदवार) ले मतदाताको भोट प्रभावित गर्न गराएको भन्दै प्रत्यासी नेकपा एमालेका व्यक्ति हरुले आरोप लगाउँदै आएका थिए । केही दिन अघि पथरीमै स्वास्थ्य शिविर भइरहँदा नेकपा एमालेका पूर्व सांसद चण्डी राई लगायतले स्वास्थ्य शिविर रोक्न भन्दै प्रहरी प्रशासन नै लगाएर आक्रमण समेत गरेका थिए ।
नोवेल मेडिकलका चिकित्सक डा. घिमिरेले नोवेल अस्पतालको नियमित कार्यक्रम अन्तर्गत गरिएको निःशुल्क स्वास्थ्य शिविरलाई नेकपा एमालेले राजनीतिसँग जोडेर सर्वसाधारण जनताले निःशुल्क स्वास्थ्योपचार पाउने सुविधाको हनन गरेको जिकिर गरे ।
“








