पूर्व र बहालवाला सञ्चारमन्त्रीको रोचक चुनावी भिडन्त

मंसिर २, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ मा पुर्व र बहालवाला सञ्चारमन्त्रीबीच चुनावी प्रतिष्पर्धा हुने भएपछि चुनावी भिडन्त रोचक बनेको छ । प्रतिनिधिसभा क्षेत्र नंं १ मा वाम गठबन्धनका तर्फबाट पूर्व सञ्चारमन्त्री अग्निप्रसाद सापकोटा र लोकतान्त्रिक गठबन्धनबाट सञ्चारमन्त्री मोहनबहादुर बस्नेत चुनावी प्रतिष्पर्धामा छन् ।

चुनाव आउन १० दिन मात्र बाँकी हुँदा चोक चोक र चिया पसलमा मतदाताबीच मतको अंकगणीय लेखाजोखासमेत हुन थालेको देखिन्थ्यो । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु एकअर्कााप्रति आक्रामक शैलीमा प्रचारमा व्यस्त छन् । अहिले दुवै उम्मेदवारले एक अर्कालाई भ्रष्टाचारीका चेलासमेत भन्न भ्याइसकेका छन् । एक अर्कालाई गाली गरेरै मतदातालाई आकर्षित गर्न उनीहरु भड्किलो प्रचार शैलीमा ब्यस्त छन् ।

सापकोटा २०६४ को पहिलो संविधानसभा तथा दोस्रो २०७० मा सिन्धुपाल्चोक २ बाट निर्वाचित हुनुहुन्छ भने बस्नेत २०५६ को आम निर्वाचन तथा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक १ बाट निर्वाचित भएका थिए । अहिले निर्वाचन क्षेत्र गाभिएसँगै दुवै नेता पहलिो पटक आमने सामने भएका हुन् ।

बस्नेत सिन्धुपाल्चोकमा निक्कै परिचित छन् । बस्नेतको तुलनामा सापकोटा कम परिचित छन् । यसअघिका दुईवटा संविधानसभा निर्वाचनमा सापकोटाले प्रतिनिधित्व गर्दै आएको तत्कालीन क्षेत्र नं। २ को आधा भूगोल मात्र अहिले यो क्षेत्रमा मिसिएको हुँदा आधा भूभागले उनलाई खासै चिन्दैन ।

तर, स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने यहाँ वाम गठबन्धन निकै बलियो छ । भोटेकोसी, लिसंखुपाखर, बलेफी, जुगल, त्रिपुरासुन्दरी, सुनकोसी गाउँपालिका, बाह्रबिसे र चौतारा नगरपालिका–२, ३, ४, ९ र १० वडा समेटिएको यो क्षेत्रमा वाम गठबन्धनसँग ४४ हजार ७६ मत छ । एमालेले २४ हजार १८८ र माओवादी केन्द्रले १४ हजार ३८८ मत ल्याएको थियो ।

लोकतान्त्रिक गठबन्धनका पक्षमा भने ३० हजार ५५५ मत देखिन्छ । स्थानीय निर्वाचनमा कांग्रेसले २१ हजार ६२९ र राप्रपाले आठ हजार ९२६ मत पाएको तथ्यांक छ । यसरी हेर्दा लोकतान्त्रिकको तुलनामा वाम गठबन्धनसँग अझै १३ हजार ५२१ मत बढी छ । त्यसकारण पनि चर्चामा रहेका बस्नेतलाई चुनाव जित्न सजिलो छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =