हिउँदे वर्षा कहिलेसम्म ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
माघ ३, काठमाडौं । देशभर परेको हिउँदे वर्षाले चिसो बढेको छ । हिजो दिउसोदेखि परेको वर्षा रातभर चलिरह्यो ।
मौसम विभाग पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।
अहिले नेपालको पश्चिमी, मध्य भूभागमा र पूर्वी पहाडी भूभागमा सामान्य देखि पूर्णतया बदली रहेको छ । गएराति देखि नै काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा हिउँदे झरी परेको छ ।
null
आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपात हुनेछ ।
हिउँदे वर्षाले गर्दा देशका विभिन्न स्थानमा पानी परेको छ । चौथो चरणको हिउँदे बर्षाको यो श्रृंखला गएको सोमबार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण भएको मौसम विभाग पूर्वानुमान महाशाखाको भनाई छ ।
उक्त प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो । त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य र पूर्वी भूभागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षा भएसँगै तराइमा लागेको हुस्सु हटेको छ । हिउँदे वर्षा भए पनि यो वर्षापछि मौसममा सुधार आएर तातोपन बढ्ने छ ।
शुक्रबार (आज) दिनभर बदलीको अवस्था रही देशका विभिन्न भेगमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुनेछ । आउँदो २४ घण्टा चिसो हुने हनाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । शनिबारदेखि मौसममा सुधार आउनेछ । तर अर्को साता फेरि फाट्ट फुट्ट वर्षा हुने संकेत देखिएको मौसमविदको भनाइ छ ।
आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्का बर्षा हुने छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनेछ।
शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनेछ ।
आइतबार देशको पहाडी भूभागमा आंशिक बदली भइ पहाडी भूभागका केही स्थानमा हल्का बर्षा हुन सक्ने संभावना छ ।