सुनसरीको धरानमा आफ्ना चेलासँग भिड्दै अशोक राई

भरतराज शर्मा(गोपाल), धरान । प्रतिनिधिसभाको चुनावमा सङ्घीय समाजवादी फोरम र नेपाली काँग्रेसको संयुक्त चुनावी गठबन्धनले फोरमका वरिष्ठ नेता अशाेक राईलाई आफ्नो पुरानो राजनीतिक कर्म थलोबाट चुनावी मैदानमा उतारेको छ ।

कम्युनिस्टहरुको पकड रहदै आएको सुनसरी क्षेत्र नम्बर १ मा नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका तर्फबाट जय राईले प्रतिस्पर्धा गर्दै छन् । जय राई एमालेका पुराना नेता अशोक राईकै राजनीतिक चेला हुन् ।

जयले ०५४ सालमा एमाले विभाजनपछि नेकपा मालेबाट अशोक राई निकट रहेर काम गरेका थिए । अहिले उनी आफ्ना पुराना नेतासँग चुनावी भिडन्तमा छन् । मदन भण्डारी सगरमाथा कोसी क्षेत्रीय समितिको सचिव हुँदा अशोक राई उपसचिव भएर भूमिगत रूपमा धरानबाट राजनीति गर्थे । २०४६ सालको आन्दोलनताका पनि धरानमा रहेर आन्दोलन गरेको राईले बताए ।

खोटाङमा जन्मिएका राईले आफ्नो राजनीतिक भूमि धरान भएकाले सुनसरी १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएको बताएका छन् । राईले २०३५ सालदेखि २०४८ सालसम्म धरानमा रहेर कम्युनिस्ट राजनीति गरेका थिए । ‘यो मेरो कर्मथलो हो । देशमा लोकतन्त्रका ल्याउन र पार्टीको सङ्गठन निर्माण गर्न मैले यही ठाउँबाट सङ्घर्ष गरेको हुँ । धरानबाट शिक्षा आर्जन गरेको हुँ ।

मेरा साथीभाई, नातागोता, गुरु र पार्टीका सहकर्मीहरु यहीँ छन्,’ उनी भन्छन्, ‘पार्टीले पनि मलाई यहाँ आउनुपर्छ भनेको र गठबन्धनले पनि साथ दिएका कारण उम्मेदवारी दिएको हुँ । ४५ वर्षको मेरो राष्ट्रिय राजनीतिको अनुभवबाट सुनसरी १ लाई फाइदा पुर्यााउनेछु ।’

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका जय राई नेकपा एमाले धरान उपमहानगरपालिकाका सहइन्चार्ज तथा सुनसरी जिल्ला कमिटीका सदस्य हुन् । उनी भन्छन्, ‘अशोक राई मेरो प्रतिद्वन्द्वी भए पनि म उहाँलाई सम्मान गर्छु । मैले उहाँको कार्यकर्ता भएर काम गरेको थिएँ । मेरो ३० वर्षको राजनीतिमा मैले धरानका स्थानीय जनतासँग नजिक रहेर काम गरेको छु । उनीहरूको सुख दुःख बुझेको छु । हाम्रो सङ्गठन बलियो छ, त्यसमाथि भर्खरै बनेको वाम गठबन्धनले हामीलाई अझ मजबुत बनाएको छ ।’
यो क्षेत्रमा २०६४ को पहिलो संविधानसभा बाहेक सधैँ एमालेले जितेको छ । नयाँ संरचना अन्तर्गत चुनावी क्षेत्रहरूमा फेरबदल आए पनि यहाँ एमालेको सङ्गठन कमजोर भने छैन । नयाँ क्षेत्र अन्तर्गत धरान उपमहानगरपालिकाका १९ वटै वडा, बराह नगरपालिकाको १ देखि ५ र रामधुनी नगरपालिकाको ६ र ७ वडा सुनसरी क्षेत्र नम्बर १ मा पर्छन् ।

सुनसरी १ लाई अन्य क्षेत्रको तुलनामा सङ्घीय समाजवादी फोरमको राम्रो पकड भएको क्षेत्र मानिएको छ । यद्यपि, स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने, धरान उपमहानगरपालिका, बराह नगरपालिका र रामधुनी नगरपालिकाका मेयर, उपमेयर र अधिकांश वडामा एमालेले जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =