मुश्किल भो भान्छा, तरकारीको मूल्य निन्त्रणबाहिर

“
कात्तिक २३, काठमाडौं । काठमाडौंमा तरकारीको मुल्य अहिले सम्मकै उच्च भएको छ । तरकारीमा अप्रत्याशित मुल्य बृद्धीले सर्बसाधारणलाईं भान्छा चलाउनै मुश्किल हुन थालेको छ । तिहार अघिदेखि महंगो भएको तरकारीको मूल्य अझै घटेको छैन ।
सामान्य अवस्थामा यसरी अधिकाशं तरकारी एकैपटक महंगो विन्दुमा पुगेको थिएन । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार तरकारीको मूल्य उच्च विन्दुमा पुगेर लगातार बढ्दो क्रममा देखिएको पहिलोपटक हो ।
अहिले अधिकांश तरकारी किलोेको सय रुपैयाँ घटीमा पाइन छाडेको छ । कालिमाटी बजारमै मूल्य उच्च भएपछि खुद्रा बजारमा मूल्य अनियन्त्रित बनेको छ । कालिमाटी बजारमा गोलभेँडाको खुद्रा मूल्य किलोको १२० रुपैयाँ पुगेको छ । खुद्रामा एक सय ५० सम्ममा बिक्री भइरहेको छ ।
सेतो आलुको मूल्य किलोको ७० रुपैयाँ रहेको कालीमाटी बजारमा काउलीको मूल्य ११० रुपैयाँ पुगेको छ । कालिमाटीमा बोडी र मटरकोशा किलोको १३० रुपैयाँ पुगेको छ । हरियो प्याज १४० रुपैयाँ प्रतिकेजी छ ।
एक किलो घिउ सिमी किन्न ११० र तितेकरेला १२० रुपैयाँ खर्चिनुपर्छ । गाजर पनि किलोको १३० रुपैयाँ भएको छ । कालिमाटी बजारमै परवर ८० रुपैयाँ पर्छ भने हरियो फर्सीको मूल्य ७० रुपैयाँ पुगेको छ ।
भिण्डीको मूल्य सय रुपैयाा प्रतिकेजी छ भने पालुंगो र चमसुरको साग कािलेको ११० रुपैयाँमा बिक्री भइरहेको छ । कागतीलाई केहीको ६ सय रुपैयाँ तिर्नुपर्ने अवस्था छ ।
भेडेँ खुर्सानी किलाको १३० रुपैयाँ पर्छ भने हरियो लसुुनको मूल्य किलोको १७० रुपैयाँ छ । हरियो धनियाँ किलोको ३९० रुपैयाँ पुग्दा हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
कालिमाटी बजारमा च्याउ किलोको २ सय रुपैयाँमा बिक्री भइरहेको छ । ब्रोकाउली प्रतिकेजी १३०, चुकन्दर ९०, जिरीको साग ११०, पार्सले १२० रुपैयाँ पुगेको छ ।
कालिमाटी बजारमा काठमाडौंकै सबैभन्दा सस्तो तरकारी पाइन्छ । यहाँबाट नै खुद्रा विक्रेताले लगेर विक्री गर्ने भएकाले अन्य क्षेत्रमा तरकारीको मूल्य योभन्दा उच्च हुन्छ ।
रायोका साग नै मुठाको ५० भन्दा बढी तिरिरहेका छन्, उपभोक्ता । आलूकै मूल्य पनि अस्वभाविक रुपमा बढेको छ ।
“








