गठबन्धनबाट भागेर बाबुरामले हार्ने बाटो रोजे : पुन

“
कार्तिक २०, काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनले गोरखा क्षेत्र नम्बर २ मा नारायणकाजी श्रेष्ठकाे जित सुनिश्चित भएकाे बताएका छन् ।
उनले भने, ‘हामीले बाबुरामजीलाई वाम गठबन्धन अन्तरगत काठमाडौँबाट चुनाव लडाउन खोजेका थियौँ, तर उहाँ गठबन्धनबाट भागेर गोरखा २ मा जाने गलत निर्णय गर्नुभयो ।’ उनले भने, ‘गोरखा क्षेत्र नम्बर २ माओवादी केन्द्रको गढ हो, त्यसमा एमालेको समेत साथ छ, त्यसैले माओवादी केन्द्रका शीर्षनेता नारायणकाजीको जित निश्चित छ ।’
पहिलो चरणको मनोनयन दर्ताभन्दा अघिल्लो दिन बाबुरामजी संसद्मा आउनुपर्छ, त्यसैले उहाँ लचक हुनुपर्छ भनेर आफूले सचेत गराएको पुनले स्मरण समेत गराए । उनले भने, ‘त्यो भनेको उहाँले गोरखा २ मा आफ्नो अडान लिनुहुँदैन भन्ने थियो, तर उहाँले हार्ने बाटो रोज्नुभयो ।’
आगामी संसद्मा नारायणकाजीजस्तो वरिष्ठ नेताको भूमिका अहम रहने भएकाले गोरखा २ मा श्रेष्ठलाई जिताउन पार्टीको सम्पूर्ण ताकत लगाइने पुनले बताए । साथै, श्रेष्ठले वाम एकतामा पनि महत्त्वपूर्ण भूमिका खेलेको हुनाले एमालेको समेत साथबाट जित निकाल्ने उनले दाबी गरे ।
श्रेष्ठलाई एमालेको मात्रै नभएर काँग्रेस र नयाँशक्तिकै कार्यकर्ताको समेत साथ रहेको पुनकाे दाबी छ । उनले भने, ‘नयाँशक्तिकै नेता कार्यकर्ताहरू धमाधम माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन्, बाबुरामजीले जित्ने अवस्था छैन ।’
“








