‘आर्थिक समृद्धिका लागि वाम गठबन्धनको जित आवश्यक’

“
काठमाडौँ, कात्तिक १९ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले मुलुकमा दीगो विकास र आर्थिक समृद्धिका लागि वाम गठबन्धनको जित आवश्यक रहेको बताउनुभएको छ ।
एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ९ ले शनिबार आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले नयाँ संरचनानुसार पहिलो पटक हुन लागेको केन्द्रीय र प्रदेशसभाको चुनावबाट एमालेको नेतृत्वमा गठबन्धनको सरकार निर्माण गरी देशमा सामाजिक रुपान्तरण गराइने बताउनुभयो । ‘अहिलेसम्म कुनै पनि सरकारले पूर्ण समयअवधि पूरा गर्न नसकेकाले राजनीतिक स्थिरता कायम हुन नसकेको हो, सरकारको स्थायित्वका लागि चुनाव अगाडि वाम गठबन्धन र पछाडि बाम एकता गरिने छ’ , उहाँले भन्नुभयो ।
प्रतिनिधिसभाका लागि काठमाडौँ क्षेत्र नं ९ का लागि एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले मुलुकमा भएका विभिन्न आन्दोलनमा वाम शक्तिको सहभागिता रहेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई स्थापित गरेको वाम शक्तिलाई जनताले मतदान गरी मुलुकको राष्ट्रियता र लोकतान्त्रको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
“








