एसीसी यू–१९ः नेपाल ६ विकेटले पराजित, सेमिफाइनल सम्भावना समाप्त

भदौ २२, काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपाल पराजित भएको छ ।   

श्रीलङ्काको पी सारा मैदानमा भएको खेलमा समूहको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको हो । पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो ।   

नेपालले दिएको २ सय ६२ रनको लक्ष्य बंगलादेशले ४९ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशका अकबल अलीले अविजित ९८  सर्वाधिक रन जोड्दा तोहिद हृदयले ६०, मोहम्मद हसन जोयले ४० र सामिन होसेनले अविजित ४२ रन बनाए ।   

सामिन र अलीबीच पाँचौँ विकेटका लागि एक सय रनको साझेदारी भयो । त्यसअघि १९ रन जोड्दा दुई विकेट गुमाएको बंगलादेशका लागि हृदय र जोयले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । 

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन जोड्यो ।   

नेपालका लागि ओपनर पवन सर्राफले ८१ र सन्दीप जोराले ५६ रन जोडे । विस्फोटक ब्याटिङ गरेका सन्दीपले ३३ बलमा अर्धशतक पूरा गरेका थिए । त्यस्तै रित गौतम ३२, कुशल मल्ल २८ र रोहित पौडेल १४ रनमा आउट भए । आसिफ शेख ३ रनमा आउट भए ।   

पहिलो विकेटका लागि ४५ रन जोडेको नेपालले तेस्रो विकेटका लागि ३९ र चौथो विकेटका लागि ६६ रनको साझेदारी गर्यो सर्राफले एक सय ९ बलमा एक छक्का र ८ चौका प्रहार गरे । त्यस्तै सन्दीप र भीमले छैटौँ विकेटका लागि ७१ रनको साझेदारी गरे । भीमले २१ रन बनाए । 

बंगलादेशसँग पराजित भएसँगै नेपालको सेमिफाइनल यात्रा समाप्त भएको छ । नेपालले तेस्रो तथा अन्तिम खेलमा युएईको सामना गर्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =