कमलादीमा गोली चलाउने भारतीय प्रहरी? किन आएका थिए उनीहरु

“
कात्तिक १६, काठमाडौं । राजधानीको कमलादीमा गोली चलाउने भारतीय मध्ये दुई जना भारतीय प्रहरी रहेको खुलेको छ ।प्रहरी अनुसन्धानको क्रममा भारतीय नागरिकहरु जसविर सिंह र हरदेवेन्द्र सिंहको पंजाव प्रहरीसंगको संलग्नता देखिएको छ । उनीहरुसंग पंजाव प्रहरीको परिचय पत्र भेटिएको प्रहरी स्रोतको दाबी छ ।
घटनाको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीको बिशेष ब्युरोले लिएको छ । उनीहरुले आफुहरु नेपाल घुम्न आएको र रेस्टुरेण्ट संचालकले २२ हजारको फर्जी विल बनाएर ठग्न खोज्दा बिवाद भएको दाबी गरेका छन् । प्रहरीको बिशेष ब्युरोले उनीहरु कुनै घटना घटाउन नेपाल प्रवेश गरेका हुन वा घुम्न आएका हुन भन्ने बारेमा गहिरो अनुसन्धान सुरु गरेको छ ।
उनीहरु विरुद्ध हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ । उनीहरु के उद्धेश्यले नेपाल आएका थिए भन्ने खुल्न सकेको छैन । भैरहवा हुँदै नेपाल प्रवेश गरेका भारतीयहरुबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता रामदत्त जोशीले बताए । ‘अहिले हामी अनुसनधानकै क्रममा छौं’ जोशीले भने–‘के उद्धेश्यले आएका हुन् खुल्न सकेको छैन ।’
बुधबार तीन जना भारतीय नागरिक अटोमेटिक पेस्तोल र ठूलो संख्यामा गोलीसहित कमलादीबाट पक्राउ परेका थिए । पक्राउ पर्ने भारतीय नागरिकहरुमा जसवीर सिंह, अरविन्द्र सिंह र देवेन्द्र सिंह छन् । उनीहरुले गोली चलाएपनि कोहि घाईते भएका छैनन् ।
ती भारतीय नागरिकहरुबाट ५१ राउण्ड गोली र ४ वटा म्यागजिन फेला परेको छ । उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको शंका गरिएको छ । कमलादीको एउटा रेस्टुरेन्टमा खाजा खाएपछि बिल तिर्ने विषयमा विवाद हुँदा सुरुमा प्रहरीको मान्छे भनेको र त्यसपछि तर्साउनका लागि पेस्तोल निकालेर गोली चलाई भाग्ने क्रममा उनीहरु पक्राउ परेका थिए ।
“








