बागी उम्मेदवार नाम फिर्ता लिदै

कात्तिक ८, काठमाडौँ । निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका बागी उम्मेदवारले नाम फिर्ता लिन थालेका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार कतिपय बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

प्राप्त खबर अनुसार मुगुमा माओवादीले बागी उम्मेदवारी फिर्ता लिँदै सूर्य चिन्हमा मतदान गर्ने निर्णय लिएकाे छ । माओवादीले गत आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गराएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको हो । बुधवार १ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर बाम गठबन्धन विपरीत प्रदेशसभा र प्रतिनिधिसभाको लागि मनोनयन गराएको उम्मेदवारी फिर्ता लिएको पोलिटब्यूरो सदस्य मंगलबहादुर शाहीले बताए ।

पार्टी केन्द्रीय समितिले ५ वर्षसम्म कारबाही गर्ने चेतावनी दिएपछि उम्मेदवारी फिर्ता भएको हो । मुगुमा अब प्रतिनिधिसभा र प्रदेशसभामा माओवादीले एमालेको सूर्य चिह्नमा मतदान गर्ने भएको छ । यसै गरी जाजरकोटका एमाले युवा नेता निरज आचार्यले प्रदेश सभा ‘ख’का लागि दिएको बागी उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रीय अध्यक्ष ओलीको नासो अाेलीलाई नै फिर्ता गरेको बताउँदै उनले आफू पार्टीको नीति, विधि र निर्देशन अनुसार अगाडी बढ्ने बताए ।

यता रामेछापका तीनैजना बागी उम्मेदवारले नाम फिर्ता लिएका छन् । माओवादीका तर्फबाट तिनै जना बागीले हेलिकप्टर चार्ट गरेर जिल्ला निर्वाचन कार्यालय पुगी उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरूले वामपन्थी गठबन्धनविरुद्ध बागी दिएका थिए । पार्टीको ३ नम्बर प्रदेश हेडक्वार्टरसँग वार्ता गरेपछि उम्मेदवारी फिर्ता लिन उनीहरू मन्थली पुगेका हुन् ।

टिकट वितरण र सिट बाँडफाँडप्रति अशन्तुष्टि जनाउँदै पूर्व सभासद् लक्ष्मी गुरुङले प्रतिनिधिसभामा माओवादी नेता तथा राज्यमन्त्री श्यामकुमार श्रेष्ठ विरुद्ध उम्मेदवारी दिएकी थिइन् । त्यस्तै, जिल्ला सचिवालय सदस्य हेमन्त पौडेलले प्रदेश ‘क’ मा एमाले जिल्ला अध्यक्ष शान्ति पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए भने माओवादी पोलिटव्यूरो सदस्य मैनकुमार मोक्तानले प्रदेश ‘ख’ मा एमाले नेता कैलाश ढुंगेलविरुद्ध उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eleven =