एनआइसी एसिया बैङ्कको काण्ड : ह्याकरकाे दुख बालुवामा पानी

“
कात्तिक ८, काठमाडौँ । एनआइसी एसिया बैङ्कको स्वीफ्टबाट कात्तिक २ गते ह्याकरले चोरेको रकम फिर्ता हुने प्रक्रियामा पुगेको छ । बैङ्कको विदेशी बैङ्क खातामा रहेको रकम ह्याकले अन्यत्र सार्न दिएको अर्डर क्यान्सिल गरी सम्बन्धित विदेशी बैंकहरुले रोकेर एनआइसी एसिया बैङ्ककै खातामा जम्मा हुने भएकाे छ ।
एनआइसीको स्वीफ्ट सर्भर अनधिकृत प्रयोग गरी अन्यत्र सार्न दिइएको सबै अर्डर क्यान्सिल गरिएको जानकारी सम्बन्धित बैंकहरुले दिएको एनआइसी एसिया बैङ्क स्रोतले जानकारी दियो । ‘सो दिन स्वीफ्ट मार्फत दिइएको अर्डर सबै क्यान्सिल गर्न सम्बन्धित बैंकहरुलाई हामी र राष्ट्र बैङ्कले आग्रह गरेका थियौँ, सबै अर्डर क्यान्सिल गरिएको सम्बन्धित बैंकहरुले जानकारी दिएका छन्, रकमै फिर्ता हुन केही समय लाग्छ, तर फिर्ताको प्रक्रियामा रहेकोले अब चिन्ता गरिरहनु परेन,’ बैङ्क स्रोतले भन्यो ।
अरू रकम फिर्ताको प्रक्रियामा भए पनि करिब ३ करोड रुपैयाँ भने फिर्ता हुने नहुने अझै यकिन भएको छैन । सो रकमलाई शंकास्पदमा राखेर राष्ट्र बैङ्क मार्फत फिर्ता गराउन पहल भइरहेको स्रोतको भनार्इ छ ।
“








