नेपालको शानदार जित, अफगानिस्तान दोस्रोपटक पराजित

साउन ३०, काठमाडौं । अफगानिस्तान विरुद्धको मैत्रीपूर्ण भलिबलमा नेपालले शानदार जित निकालेको छ ।
सैनिक तालिम केन्द्र लगनखेलमा बिहीबार भएको दोस्रो खेलमा पाहुना टोली अफगानिस्तानलाई ३–२ सेटमा पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई ३–२ कै सेटमा हराएको थियो ।
null
पहिलो मैत्रीपूर्ण खेलमा मांसपेशीको चोट बोकेपछि कप्तान ईमले दोस्रो खेल गुमाएका थिए । तर, धनबहादुर भट्टको कप्तानीमा कोर्ट उत्रिएको नेपालले सुरुवाती दुई सेट गुमाएपनि जित निकाल्न सफल भएको हो । नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–१५ ले गुमाएको थियो । त्यसपछि भने नेपालले तीन सेटमा लगातार जित निकाल्यो ।
नेपालले तेस्रो सेट २६–२४ र चौँथो सेट २६–२४ ले जित्दै खेल २–२ को बराबरीमा ल्याएको थियो । त्यसपछि अन्तिम सेटमा नेपालले १५–१२ को सेटमा जित निकालेको हो ।
घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेलेको हो ।
एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म सञ्चालन हुनेछ ।








