गौचन हत्या प्रकरणः को थियो हत्यारा ?

काठमाडौं, असोज २५ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको एक दिन वितिसक्दा पनि प्रहरीले अपराधीबारे कुनै सुँईको पाउन सकेको छैन । सोमबार दिउँसो घरबाट गाडी चढेर निस्केको गौचनको अज्ञात समहुले गोली हानी हत्या गरेका थिए ।

गोली हाने लगत्तै दुई युवा मोटरसाईकल चढी बेपत्ता भएका थिए ।  प्रहरीले गौचनको हत्यामा सर्व सुटरको प्रयोग भएको हुन सक्ने अनुमान गरेको छ ।  छाती र पेटमा लगातार तीन गोली प्रहार भएलगत्तै अचेत भएका गौचनको अस्पताल नपुग्दै मृत्यु भएको थियो ।

असुली धन्दामा सक्रिय गुन्डा समूहबाट चन्दा नदिएको निहुँमा हत्या गरेको हुन सक्ने अनुमान गरिए पनि हत्याको विन्दुसम्म पुग्नुअघि समूहले गौचनलाई कसरी सताएको थियो भन्नेबारे प्रहरीले पत्तो पाएको छैन । गुलाबी रंगको टिसर्ट र हेल्मेट लगाएका अधबैंसे युवाले हत्या गरेको भन्ने सूचनाबाहेक अपराधीबारे कुनै जानकारी छैन । प्रहरीले गौचनको मोबाइल संवाद र एसएमएस डिटेल केलाएर घटनामा कसको संलग्नता थियो भनेर पत्ता लगाउने प्रयास थालेको छ ।

हत्यामा भारतमा बसेर व्यवसायीसँग चन्दा असुली गरिरहेको मनोज पुन समूहको संलग्नताको आशंका गरिए पनि यसको पनि कुनै भरपर्दो आधार फेला परिसकेको छैन । गत वर्ष व्यवसायी एवं युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेपछि पुनको समूह चर्चामा आएको थियो ।

उनको समूहमा काठमाडौंको बाफल क्षेत्रमा प्रभाव जमाएका भनिएका समीरमान बस्नेत, तिब्बती शरणार्थीका रूपमा भारतको धर्मशालामा बस्ने लोप्साङ लामा छन् ।

गौचनको हत्यालगत्तै लोप्साङले केही प्रहरी अधिकारीलाई फोन गरेर घटनाको जिम्मेवारी लिएको स्रोतले जनायो । यही समूहले सोमबार अन्य केही निर्माण व्यवसायीलाई पनि इन्टरनेट कलमार्फत धम्की दिएको सूचना प्रहरीमा पुगेको छ ।

गत चैतमा गौरीघाटको एक फिटनेस क्लबमा रहेका गुन्डा दावा लामामाथि गोली हानेको घटनामा पनि लोप्साङले जिम्मेवारी लिएका थिए । लामा र गौचन दुवैमाथि उस्तै प्रकृतिले गोली हानिएकाले पनि प्रहरीले पुनको समूहको संलग्नता हुन सक्ने प्रारम्भिक अनुमान गरेको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + fourteen =