चितवनको सबै क्षेत्रमा महिला मतदाता बढी

किशोर खनाल, भरतपुर । दोस्रो चरणमा मङ्सिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाका चितवनको चुनावमा महिला मतदाता बढी हुने भएका छन् । चितवनमा यसअघि पाँच वटा क्षेत्र रहे पनि अब तीन क्षेत्र कायम हुने भएको छ ।

चितवनको तीन वटा क्षेत्रमा पुरुष मतदाताको सङ्ख्याभन्दा महिला मतदाता बढी रहेका निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । चितवन जिल्लाको स्थानीय तहको चुनावको मतदाता सङ्ख्याभन्दा अब आउँदै गरेको प्रतिनिधि र प्रदेश सभाको चुनावमा ४१ हजार ३३ मतदाता बढेका छन् ।

चितवनको तीन वटा निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या ३ लाख ५४ हजार ३५ पुगेको छ । स्थानीय तहको निर्वाचनमा चितवनमा ३ लाख १३ हजार २ मतदाता थिए । अबको चुनावमा महिला मतदाताको सङ्ख्या १ लाख ८४ हजार ६९ पुगेको छ ।

पुरुष मतदाता १ लाख ६९ हजार ६५ छन् । पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या १५ हजारले धेरै छ । धेरै पुरुष युवा जनशक्ति विदेशमा र बाहिरी जिल्लामा रहेको हुनाले पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या बढी भएको निर्वाचन कार्यालय भरतपुरले जनाएको छ ।

चितवन क्षेत्र नम्बर एकमा १ लाख १९ हजार ९९८ मतदाता छन् । जसमा महिला मतदाता १ लाख ६२ हजार २९९ छन् । पुरुष मतदाता १ लाख ५७ हजार ६९९ छन् । क्षेत्र नम्बर एकमा महिला मतदाता बढी देखिएको निर्वाचन कार्यालय भरतपुरका सूचना अधिकारी भीमप्रसाद ढकालले जानकारी दिए ।

चितवन क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २१९ मतदाता छन् । जसमा महिला मतदाताको सङ्ख्या ५५ हजार ५०१ रहेको छ । पुरुष मतदाता ५२ हजार ७१७ छ । क्षेत्र नम्बर २ मा पुरुषभन्दा महिला मतदाता धेरै छन् ।

चितवनमा सबैभन्दा धेरै मतदाता क्षेत्र नम्बर ३ मा छन् । यस क्षेत्रमा १ लाख २५ हजार ८१८ मतदाता छन् । जसमा महिला मतदाता ६६ हजार २६९ छन् । यस क्षेत्रमा पुरुष मतदाता ५९ हजार ५४९ रहेका छन् ।

‘निर्वाचन आयोगबाट फोटोसहितको अन्तिम मतदाता नामावली आएपछि मतदाता सङ्ख्या यकीन हुन्छ, अहिलेको मतदाता सङ्ख्यामा ठुलै फरक हुँदैन । केही फरक भएर आउन पनि सक्छ’ निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरिप्रसाद ढकालले भने, ‘केही दिनभित्रैमा आयोगबाट अन्तिम मतदाता नामावली आउँछ ।

प्रमुख ढकालका अनुसार प्रतिनिधि र प्रदेश सभाको चुनावमा पनि स्थानीय तहको चुनावकोे मतदान स्थल नै कायम रहनेछ । ‘मतदान स्थल थपघट वा परिवर्तन हँुदैन’ प्रमुख ढकालले भने, ‘चितवनमा पहिला रहेका १६१ मतदान स्थल नै कायम रहनेछन् । मतदान केन्द्र भन केही बढ्नेछ ।’

चितवनमा मतदाता सङ्ख्या बढेपछि मतदान केन्द्र पनि बढाउनुपर्ने निर्वाचन कार्यालय भरतपुरले जनाएको छ । स्थानीय तहको चुनावमा जिल्लामा ३७६ मतदान केन्द्र थिए । पहिलाको भन्दा जिल्लाभर करिब ३५ मतदान केन्द्र थपिन सक्ने कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालले बताए । मतदाता शिक्षाको कार्यक्रम तिहारपछि हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =