सधै राष्ट्रिय चर्चामा चितवनको चुनाव, धमाधम उम्मेदवार सिफारिस भए

किशोर खनाल

भरतपुर, असोज २० । चितवनको चुनावले सधैँ राष्ट्रिय चर्चा लिइरहेको छ । स्थानीय चनावमा पनि भरतपुर महानगरले खुब राष्ट्रिय स्तरमा चर्चा पाएको थियो । मंसीर महिनामा हुने प्रतिनिधासभा र प्रदेशसभाका लागि चितवनबाट राजनीतिक दलहरुले धमाधम उम्मेदवारको नाम सिफारिस गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमालेले नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनको ३ नम्बर क्षेत्रबाट उठ्ने चर्चा अहिले केन्द्रमै जोडतोडले बढेको छ । एमालेसँगको राष्ट्रिय समीकरणले चितवनको चुनावी सरगर्मी निकै तातेको छ ।

आगामी प्रदेश सभाको निर्वाचनका लागि चितवनमा ६ वटा क्षेत्र र प्रतिनिधि सभाका लागि भने ३ वटा क्षेत्र निर्धारण गरिएको छ । जस अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री तथा एमालेका नेता सुरेन्द्र पाण्डे सर्वसम्मत रुपमा सिफारिस भएका छन् । उनी एमालेका जल्दाबल्दा नेता हुन् । उनको उम्मेदवारले पनि चितवनमा खुब चर्चा हुन थालेको छ ।

क्षेत्र १ लाई एमालेको बलियो क्षेत्रको रुपमा लिइन्छ । दोस्रो संविधानसभा निर्वाचनमा पनि यसै क्षेत्रबाट नेता पाण्डे विजयी पनि भएका थिए । त्यस्तै प्रतिनिधिसभा २ नम्बरबाट पार्टी अध्यक्ष एवम् साँसद कृष्णभक्त पोखरेलको नाम सर्वसम्मत भएको छ । उनी पनि राष्ट्रियस्तरमै चर्चित नेता बनेका छन् । धेरै देश भ्रमण गरेका पोखरेल एमालेका जिल्ला अध्यक्ष समेत हुन् । उनको सर्वसम्मत सिफारिसले एमाले वृत्तमा चर्चा भएको छ ।

क्षेत्र नम्बर ३ मा अर्का माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवार घोषणाले चितवनको चुनावले राष्ट्रियस्तरमै हलचल ल्याउनेछ । एमालेबाट चितवनका क्षेत्र १ अन्तर्गत प्रदेश सभा क्षेत्र (क) बाट दावा दोर्जे लामा र डा. कृष्ण पन्तको नाम सिफारिस भएको छ ।

प्र्रदेश सभा क्षेत्र (ख) बाट भने पार्टीका वैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनाल सर्वसम्मत सिफारिस भएका छन् । हालै सम्पन्न स्थानीय निकायको चुनावमा आफ्नो क्षेत्रका स्थानीय तहहरुमा प्रमुख र उपप्रमुख पदहरुमा सवै उम्मेदवार विजयी गराउन नेता पाण्डे र खनाल सफल भएका थिए । यस क्षेत्रको प्रदेश सभा (क)बाट पार्टीका पूर्व सचिव समेत रहेका विजय सुवेदी र (ख) बाट हालका पार्टी उपाध्यक्ष तेजेन्द्र खड्का सर्वसम्मत सिफारिसमा परेका छन् । प्रदेश २ मा यस अघिको संविधान सभा क्षेत्र नम्बर ३ को अधिकाश भाग पर्छ । जहाँबाट अध्यक्ष पोखरेल भारी मतका साथ विजयी भएका थिए ।

प्रतिनिधिसभा ३ नम्बर क्षेत्रबाट भने सर्वसम्मत हुन नसकेको पार्टीका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले बताए । यस क्षेत्रमा युवा नेता घनश्याम भट्टराई, शंकर थपलिया, सूर्यप्रसाद जमरकट्टेल, रविकिरण पौडेल र विना तिमिल्सीनाको नाम सिफारिस भएको छ ।
यस क्षेत्रको प्रदेश चुनाव (क) बाट भने जिल्ला नेता कृष्ण भूर्तेलको नाम सर्वसम्मत भएको प्रचार विभाग प्रमुख रेग्मीले बताए ।

(ख)बाट रामप्रसाद न्यौपाने, श्रीमान थिङ, श्याम विष्ट, लिलाधर आचार्य, प्रकाश ढुंगाना, सुदिप रेग्मी, विजय घले, प्रेमराज तिमिल्सीना, शान्तराज आचार्य र कल्पना सापकोटाको नाम सिफारिस भएको छ । त्यस्तै पार्टीले केशवलाल श्रेष्ठ, जेएन थपलियालगायतका नेताहरुको नाम भने समानुपातिकतर्फ सिफारिस गरेको छ ।

कांग्रेसबाट २७७ जना पुगे
प्रदेश र संघको निर्वाचनका लागि काग्रेस चितवनले प्रत्यक्ष र समानुपातिक गरि २७७ जनाको नाम काग्रेस चितवनले केन्द्रीय समितिलाई सिफारिस गरेको हो । नगर र क्षेत्रवाट आएका सिफारिसलाई आफ्नो राय सहित काग्रेसले केन्द्रमा सिफारिस गरेको काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए । उनी प्रतिनिधिसभा २ को प्रदेश सभा (क) बाट सफारिसमा परेका छन् ।

काँग्रेस केन्द्रीय समितिले भने जिल्लाबाट ५४ जनाको नाम मात्रै सिफारिस गर्न निर्देशन दिएको थियो । प्रतिनिधी सभा क्षेत्र २ मा क्षेत्रमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी प्रत्यक्ष तर्फ सिफारिसमा परेका छन् । अधिकारीसगै काग्रेसले अन्य ७ जनाको प्रत्यक्ष तर्फ र १० जनाको समानुपातिक तर्फ उमेदवारका लागि सिफारिस गरेको छ । यो क्षेत्रवाट प्रदेश सभाका लागि १७ जना प्रत्यक्ष र ५० जना समानुपातिक तर्फका उमेदवारको नाम सिफारिस भएको हो ।

क्षेत्र नम्वर ३ मा हालका संसद रामकृष्ण घिमिरे, अन्जनी श्रेष्ठ र उमेश श्रेष्ठ यो क्षेत्रमा टिकटका लागि सिफारिसमा परेका छन् । सगै अन्य २१ जनाको नाम पनि यो क्षेत्रवाट सिफारिसमा परेको छ । यो क्षेत्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्ने घोषणाले पनि काग्रेसका लागि अलिवढी पेचिलो वनेको छ ।

यो क्षेत्रको प्रदेश तर्फ भने क मा १३ जना प्रत्यक्षमा र ३५ जना समानुपातिकमा, ख बाट प्रत्यक्षमा ७ जना र समानुपातिकमा २८ जनाको नाम सिफारिसमा परेको छ । एमालेको पकट क्षेत्रका रुपमा रहेको चितवन क्षेत्र नम्मर १ मा काग्रेसले ५ जना प्रत्यक्ष र ८ जना समानुपातिक उमेदवारको नाम सिफारिस गरेको छ । यो क्षेत्रको प्रदेश सभा तर्फ क बाट प्रत्यक्षमा ७ जना, समानुपातिकमा ११ जना, ख बाट ३१ जना प्रत्यक्ष र २८ जनाको नाम समानुपातिकमा काग्रेसले सिफारिस गरेको छ ।

चितवनको कुन क्षेत्र कहाँ पर्छ ?
प्रतिनिधि सभाको निर्वाचनका लागि चितवनमा क्षेत्र नम्बर १ अन्तरगत हालको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका तोकिएको छ । प्रदेश सभामा भने क्षेत्र नम्बर (क) मा राप्ती नपा र खैरहनी नपाको वडा नम्बर ३, ६, ७, ८, ९, १० र ११ तोकिएको छ । प्रदेश सभा अन्तरर्गत क्षेत्र ख) मा खैरहनी नपाको वडा नम्बर १, २, ४, ५, १२ र १३ तथा सिंगो रत्ननगर नगरपालिका तोकिएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कालिका नपा, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरको वडा नम्बर १ , २, ३, ५, ७, १०, ११, १२ र २९ तोकिएको छ । यस क्षेत्र अन्तर्गत प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर (क) मा कालिका नपा, इच्छाकामना गापा र भरतपुर महानगरको वडा नम्बर १, ३ र २९ रहेका छन् ।

यस क्षेत्रको प्रदेश क्षेत्र नम्बर (ख) मा भरतपुर महानगरपालिकाको २, ४, ५, ७, १०, ११ र १२ वडा रहेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३ , २४, २५, २६, २७, २८ वडा र माडी नगरपालिका सिंगो रहेको छ । यस निर्वाचन क्षेत्रको प्रदेश सभा क्षेत्र (क) मा भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९, १५, १६, १७, १८, १९, २०, २६, २७ र २८ नम्बर वडा रहेका छन् । क्षेत्र (ख) मा भरतपुर महानगरको १३, १४, २१, २२, २३, २४ र २५ वडा तथा सिंगो माडी नगरपालिका रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =