केन्द्र र प्रदेशसभा निर्वाचनका लागि कास्की काँग्रेसमा उम्मेद्वारको भीड्

‘स्थानीय निकायको निर्वाचनमा आन्तरिक अन्तरघातका कारण लज्जास्पद हार ब्यहोरेको काँग्रेसमा अहिले फेरि उमेदवारको लर्को लागेको हो’

असोज १९, पोखरा । स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा हुन गइरहेको केन्द्र र प्रदेशसभा निर्वाचनका लागि कास्की काँग्रेसमा ठुलो आकाँक्षीहरुको भीड लागेको छ । केन्द्र र प्रदेश सभा निर्वाचनको लागि कास्कीबाट १ सय ५९ जनाले उम्मेदवारीदाबी गर्दै निवेदन दिएका छन् । यसरी दाबी गर्नेहरुमा कास्की काँग्रेसका उच्च नेतादेखि सामान्य कार्यकर्ता सम्म रहेका छन् । स्थानीय निकायको निर्वाचनमा आन्तरिक अन्तरघातका कारण लज्जास्पद हार ब्यहोरेको काँग्रेसमा अहिले फेरि उमेदवारको लर्को लागेको हो ।

कास्कीका केन्द्रमा ३ र प्रदेशमा ६ पदका लागि क्षेत्रीय समितिहरुमा १ सय ५९ जनाको निवेदन परेको हो । जिल्ला समितिले उम्मेदवारहरुको नाम सङ्कलनको जिम्मा क्षेत्रीय समितिलाई दिएपछि क्षेत्र नम्बर १ मा ५९, क्षेत्र नं २ मा ४५ र क्षेत्र नं.३ मा ५४ जनाले उम्मेदवार बन्न निवेदन दिएको क्षेत्रीय समितिहरूले जनाएका छन् ।

पार्टीमा आकाँक्षीहरुको ठुलो भीड देखिएपछि जिल्ला नेतृत्वले पार्टी भित्रको मर्यादा क्रम अनुसार आकाँक्षी मध्येबाट केन्द्रीय समितिमा सिफारिस गर्ने जनाएको छ ।

कास्की क्षेत्र नंम्वर १ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञ बहादुर थापा, पूर्व सभामुख तारानाथ रानाभाट, सांसद जीवन परियार, क्याप्टेन फत्ते बहादुर गुरुङ्ग, गुरु बराल, तिलक रानाभाट, कृष्ण बहादुर कार्कीले उम्मेदवार बन्न निवेदन दिएको क्षेत्रीय सभापति विर्जमान गुरुङ्गले जानकारी दिए ।

त्यस्तै गरी प्रतिनिधिसभाको समानुपातिकतर्फ गौरी सापकोटा, सरस्वती गुरुङ्ग, परशुराम बि पोखरेल, पदमशरण रेग्मी, तारा अधिकारी र हुम बहादुर गुरुङ्गले दावेदारी पेस गरेका छन् । क्षेत्र नं १ (क) प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ २३, समानुपातिकतर्फ ८, क्षेत्र नंम्वर १ (ख) को प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ८ जनाले निवेदन दिएका छन् ।

त्यसै गरी क्षेत्र नंम्वर २ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोभियत बहादुर अधिकारी, ऋृषिराम काफले, देवराज चालिसे, युवराज लामिछाने, डा. परमेश्वर पोखरेल र गुरु प्रसाद बरालले निवेदन दिएको क्षेत्रीय सभापति विजय आचार्यले बताए ।

त्यस्तै समानुपातिकतर्फ रजनी के.सी, सकुन्तला कोइराला, प्रा.डा. रामचन्द्र पोखरेल, खेम कुमारी बराल, विन्दा देवी आले, गङ्गा बहादुर खत्री र पद्मसिंह गुरुङ्ग उम्मेदवारको आकाँक्षीकारुपमा देखिएका छन् । प्रदेशसभा क्षेत्र नं २ (क) को प्रत्यक्ष र समानुपातिकमा ५ र ५ जना आकांक्षी छन् । क्षेत्र नं २ (ख) मा प्रत्यक्षतर्फ १० र समानुपातिकमा ९ जना उमेदवारको आकाँक्षी रहेका छन् ।

यस्तै क्षेत्र नंम्वर ३ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सांसद शारदा पौडेल, पूर्व सांसद शुक्रराज शर्मा, पूर्व राज्यमन्त्री महादेव गुरुङ्ग, खेमराज पौडेल, वावुराम आचार्य, दीपक गुरुङ्ग र भरतजंग कुंवर रहेका छन् ।

समानुपातिकतर्फ भोला थापा, सुरेन्द्र बहादुर भारी, कृष्ण कुमारी परियार, रामजी कुंवर, गौमती थापा, गङ्गा केसी, मन बहादुर विश्वकर्मा लामगादे, राम प्रसाद अधिकारी र पोषनाथ शर्मा आकाँक्षीकारुपमा देखिएको क्षेत्रीय सभापति पोषनाथ शर्माले जानकारी दिए ।
त्यस्तै प्रदेश सभा क्षेत्र नं. ३ (क) को प्रत्यक्षतर्फ ८, समानुपातिकतर्फ १७, क्षेत्र नं.३ (ख) मा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ६ जनाले उम्मेदवार बन्न निवेदन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =