नेपाली कांग्रेस र माओवादी केन्द्रले रसुवामा उम्मेदवार टुङ्गो लगाए

रसुवा, असोज १७ । आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि रसुवामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएका छन् ।

अरु पार्टीले उम्मेदवार टुङ्ग्याउनका लागि छलफल गरिरहेका छन् । नेपाली कांग्रेस रसुवाले प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष तर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ मोहन आचार्य र समानुपातिक तर्फ लामा कार्पु तामाङको नाम सिफारिस गरेको पार्टी सभापति पेम्बा छिरिङ तामाङले बताउनुभयो ।

प्रदेश तर्फ रसुवा जिल्लाको क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ प्रभात लामा, समानुपातिक तर्फ ठाकुर देवकोटा, क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ जनकजीवन उपाघ्याय, लेखनाथ अघिकारी र बालचन्द्र पौडेलको नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ देवकी रैला र तिष्णराज न्यौपानेलाई सिफारिस गरिएको पार्टीले जनाएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्र रसुवाका अनुसार पार्टीले संघीय प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ माधव लामिछाने समिर तथा समानुपातिक तर्फ निमावाङदी तामाङ, नानीमैया न्यौपाने, खुवाप्रसाद आचार्य र मनवीर कामीको नाम सिफारिस गरेको छ ।

प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट जिल्ला उपाध्यक्ष पासाङ थोक्रा र क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष इन्द्र गौतम जगतजंगलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उपाध्यक्ष उद्धव रिजालले बताउनुभयो । यस्तै समानुपातिक तर्फ तेन्जिङ छेसाङ तामाङ, चाम्सिङ लोप्चन, हितबहादुर गुरूङ, मेघ बहादुर ढकाल, गीता ढकाल र भगवती न्यौपानेको नाम सिफारिस गरेको माओवादी केन्द्र रसुवाले जनाएको छ ।

नेकपा एमालेले भने असोज १९ र २० गते बस्ने जिल्ला कमिटिको बैठकले उम्मेदवारको नाम टुङ्गाउने जनाएको छ । नयाँ शक्ति पार्टीमा उम्मेदवार छनौटको विषयमा छलफल भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =