निर्वाचन आयोगले आजदेखि मतपत्र छापाईको काम सुरु गर्ने

“
काठमाडौं, असोज १७ । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ आजदेखि शुरु गर्ने भएको छ । निर्वाचनका लागि मतदाताको संख्या यकिन भइनसके पनि मतपत्र छपाइको काम भने शुरु गर्न लागिएको हो ।
समानुपातिक निर्वाचन प्रणालीका लागि हल्का रातो रङको झण्डै एक करोड ८० लाख मतपत्र छापिने छ । मतपत्र छपाइको व्यवस्थापन गर्न निर्वाचन आयोगबाट जनशक्ति खटिइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । मतपत्रको छपाइ कडा सुरक्षा घेराका बीच भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा हुनेछ ।
एउटै मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभा सदस्य निर्वाचनका चुनाव चिह्न रहनेछन् । आयोगले मतदाताको संख्या केही दिनभित्रै यकिन हुने जानकारी दिएको छ । समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलले उम्मेदवारको बन्दसूची यही असोज २९ गते पेस गर्नुपर्ने गरी यसअघि नै आयोगबाट निर्वाचन कार्यक्रम प्रकाशन भइसकेको छ । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दललाई आयोगले निर्वाचन चिह्न निर्धारण गरिसकेको छ ।
समानुपातिकतर्फको मतपत्रको छपाइ आगामी कात्तिक ८ गतेभित्र पूरा हुनेछ । त्यसलगत्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्रको छपाइको काम शुरु गरिने आयोगको कार्यतालिका छ । आगामी निर्वाचनमा आवश्यक पर्ने ६४ प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन, तालिम, प्रशिक्षण र खटनपटनलगायत कार्यलाई आयोगले तीव्रता दिएको छ ।
“








