यो हाम्रो बाली स्याहार्ने मौसम हो

काठमाडौं,असोज १२। यसपाली कलाकार दिपकराज गिरीको दशैं फिल्म हलमै बित्ने भएको छ । दशैंको छेकोमै आफ्नो चलचित्र ‘छक्कापञ्जा–२’ प्रदर्शनमा आउने भएकाले दिपकराजको दशैं हलको कोलाहलमै बित्नेछ ।

‘यो हाम्रो बाली स्याहार्ने मौसम हो,’ दिपकराज भन्छन् ।

उनका अनुसार चलचित्र प्रदर्शनको मौसम भनेको कलाकारका लागि मंसिर सरह हो । ‘मंसिरमा किसान बाली जम्मा गर्न लाग्छन् । हामी पनि असोजमै आफ्नो बाली स्याहार्न ब्यस्त हुने छौं,’ अनलाइन खवरसँग दिपकराजले भने ।

राम्रो चलचित्र बनाउनेका लागि रिलिजको समय आफैमा उत्सवजस्तो बन्ने गरेको छ । दर्शकको बीचमा कलाकार लैजाने, दर्शकसँगै बसेर फिल्म हेर्ने परिपाटी मौलाउँदो छ । दिपकराजका पनि यस्ता योजना धेरै छन् । ‘टीका पनि हलमै लाउनु पर्ला जस्तो छ,’ उनी भन्छन् ।

नामुद जुवाडे

दीपकराज ‘भेज’ भएको ६ वर्ष भयो । ६ वर्षयता उनको घरमा काटमार बन्द छ । दशैंमा मासु ल्याएर पकाउने चलन चाहीँ छ । दशैंमा उनको भान्सा छुट्टै हुन्छ ।

‘दशैंको बेलामा मेरो चुल्हो बेग्लै हुन्छ । म मासु बनाएको ठाउँमा खान्नँ,’ उनी भन्छन्, ‘जुवा तासमा पटक्कै रुचि छैन ।’

‘मंसिरमा किसानहरु बाली जम्मा गर्न लाग्छन् । हामी पनि असोजमै चलचित्र प्रदर्शन गरेर आफ्नो बाली स्याहार्न ब्यस्त हुनेछौं’

अहिले साधुको जस्तो व्यवहार गर्ने दिपकराज कुनैबेला नामुद जुवाडे थिए । हजुरबाको पैसा चोरेर जुवा खेल्न हिँडेपछि पैसा नसकिउन्जेल उनी घर फर्किँदैनथे । एकपटक पाँच हजार चोरेर भागेका उनी एघार दिनपछि घर आए ।

‘पैसा सकिएपछि घर आउँथे । हजुरबाले लौराले हान्नुहुन्थ्यो । हजुरबाको लौरो खाँदा–खाँदा ज्यान दरिलो भैसकेको थियो । पिट्दा पनि ज्यान दुख्दैन थियो,’ दिपकराज सम्झन्छन् ।

लङ्गुर बुर्जा, तास र कौडामा उनको गहिरो रुचि थियो । घटस्थापनादेखि नै सुरु हुन्थ्यो, उनको जुवाको खाल । जुवाकै लागि उनले आमाको थैली, बाको सन्दुर र हजुरबाको बाक्सा धेरैपटक फुटाए । अहिलेसम्म कतिपैसा चोरे होलान् ?

‘मैले चोरेको भन्दा हजुरबाको ताल्चामा धेरै पैसा खर्च भयो,’ उनी भन्छन् ।

नातीले पैसा नचोरोस् भनेर हजुरबा निकै बलियो ताल्चा किनेर ल्याउँथे बजारबाट । दिपकराज ताल्चा फोर्न कति सिपालु भैसकेका थिए भने जस्तोसुकै ताल्चा फुटाइदिन्थे ।

टीकाकै दिन उनी मामाघर जान्थे । मामाघर जानुको उद्देश्य टीका लगाएर आशिर्वाद लिनुभन्दा पनि पैसा जम्मा गर्नुहुन्थ्यो । टीका थाप्न बसेपछि उनको आँखा पैसामै पुग्थ्यो । धेरै पटक हजुरबाले हप्काउँदै भनेका छन्, ‘ओए कता हेर्दैछस् । यता हेरेस् ।’

हजुरबाको पैसा चोरेर जुवा खेल्न हिँडेपछि पैसा नसकिउन्जेल उनी घर फर्किँदैनथे । एकपटक पाँच हजार चोरेर भागेका उनी एघार दिनपछि मात्र घर आए

टीका लाएर पाएको दक्षिणा उनको हातमा केही घण्टा मात्रै बस्थ्यो । टीका ओभाउन नपाउँदै पुगिहाल्थे लंगुर बुर्जाको खालमा । जब गोजीको पैसा सकिन्थ्यो । अनि मौका हेर्थे हजुर बा कहिले यताउती लाग्लान् र बाक्सा फोरम्ला भनेर ।

पिङ हराएको पीर

घरमाथीको पीपलको रुखमा गज्जबको डोरी पिङ हाल्ने चलन थियो । घरमा पनि बाले पिङ हालिदिन्थे । उनको घरमा पिङ बनाउन छाडेको ३० वर्ष भयो ।

‘अहँ अहिलेका केटाकेटीलाई पिङ चाहिँदै चाहिँदैन’, उनी भन्छन् ।

पछिल्लो पुस्ताले पिङमा मच्चिन छाडेकै कारण पिङ सँस्कृति हराएको दिपकराजको ठम्याइ छ ।

‘मान्छेले आफ्नौ हैसियत बिर्से,’ उनी भन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =