कोमल ओली एमालेमा ‘दुलही’ बनेर जाँदा केपी ओली नै गायब !

“
काठमाडौं, असोज १० । नेपालीहरुले महान् चाड दशैँको टीका लगाउन अझै चार दिन बाँकी छ । तर, फूलपातीको अघिल्लो दिन राप्रपाकी केन्द्रीय सदस्य तथा गायिका कोमल ओली एमालेमा ‘दुलही’ झै बनेर भित्रिइन् तर अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा । ओलीको सट्टामा उपाध्यक्ष बामदेव गौतमले यी सबै कामकाजको जिम्मेवारी पाए ।कार्यक्रममा अध्यक्ष ओली नआएर के भो गौतमले ओलीभन्दा पनि गोली भाषण दिँदै कोमललाई मख्ख बनाए,मंगलबार दाङको घोराहीमा ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै दाङमा पुगेर ओलीलाई खादा ओढाएर पार्टीमा भित्र्याउने भनिएको थियो तर मंगलबार भने पार्टी उपाध्यक्ष बामदेव गौतम र पार्टीका स्थायी कमिटी सदस्य शंकर पोख्रेललगायत नेताले कोमलसहित सयौँ नयाँ कार्यकर्ताहरुलाई टीका र खादा ओढाएर पार्टीमा भित्र्याए । तर, यसअघि अध्यक्ष ओलीले नै उनीहरुलाई खादा ओढाएर पार्टीमा स्वागत गर्ने कार्यक्रम भने भत्किन पुग्यो ।
अध्यक्ष ओली अनुपस्थित भएपछि उपाध्यक्ष बामदेव गौतमको हातबाट राप्रपाकी केन्द्रीय सदस्य तथा गायिका कोमल ओली, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य निर्मला विक, नेपाली काँग्रेसका नेता डिल्लीबहादुर खड्का, बलिभद्र राना, जनमुक्ति पार्टीका कमला देउजा, राप्रपाका नेता यामिन्द्र वलीलगायतका सयौँ नेता तथा कार्यकर्ता निधारमा अविरको टीका लगाएर एमालेमा छिरेका हुन् ।
गायिका कोमल ओली एमालेमा छिर्ने भएपछि काँग्रेस, माओवादी केन्द्र, राप्रपा तथा जनशक्ति पार्टीका कार्यकर्ताहरु पनि बुरुक बुरुक हुँदै पार्टी परित्याग गरी एमालेमा छिरेको बताइन्छ । कोमलसहित सयौँ कार्यकर्तालाई एमालेमा भित्र्याएपछि मन्तव्य दिनुअघि कोमल ओली तिर हेर्दै उपाध्यक्ष वामदेव गौतमले अबको चुनावमा एमालेलाई कसैले रोक्न नसक्ने भन्दै चर्काे स्वर निकाले । ‘अब, हामी झन् बलियो भएका छौँ । राष्ट्रका सामु आएका कठिन चुनौतीमा एमाले उत्तीर्ण भएको छ । त्यसैलेलोकतन्त्रको रक्षा एमालेले मात्र गर्न सक्छ ।’ उनी झन् कड्किए,‘काँग्रेसले बोकेको लोकतन्त्र नक्कली हो । सक्कली हुँदै होइन । जनताले अग्रगमन र राष्ट्रको समृद्धि खोजेको छ । त्यो चाहना मात्र पूरा गर्न सक्छ, एमालेले । त्यसैले एमालेभन्दा अरु कुनै पार्टी छैन मुलुकलाइ हाँक्ने ।’
अध्यक्ष ओली भएका भए पार्टी प्रवेश कार्यक्रम रौनकै बेग्लै हुन्थ्यौँ । उखान र टुक्का गाँसेर सबैलाई पेट मिचाउँथे तर उपाध्यक्ष गौतमसँग त्यो तागत नभएपनि अबको पाँच वर्षभित्र सबैको घर हुने, बेरोजगारले रोजगार पाउने भन्दै उनले झन् चर्को स्वर निकाले । “पाँच वर्षभित्र आधारभूत सेवाबाट नागरिक विमुख हुने छैन, कसैलाई विभेद र अन्याय गरिँदैन ।” उनले भनेका छन् ।
“








