वीरगञ्जमा कडा टक्कर, फाेरम अघिअघि काँग्रेस एमाले पछ्याउदै

“
असोज ८, वीरगञ्ज । प्रदेश नम्बर २ को एक महानगरपालिका र ३ उपमहानगरपालिका मध्ये एक उपमहानगरमा एमाले विजयी भइसकेको छ भने अर्कोमा राजपाले जित पक्का गरेको छ । त्यस्तै प्रदेश नम्बर २ काे एकमात्र महानगरपालिका वीरगञ्जमा काँग्रेसको अग्रता तोड्दै फोरम अघि बढेको छ । आइतबार बिहानको पछिल्लो नतिजा अनुसार सङ्घीय समाजवादी फोरमका विजय सरावगीले ९९४६ मत लिएर काँग्रेसका अजय द्धिबेदीको अग्रता तोडेका छन् । द्धिबेदीले ९८२८ मतका साथ सराबगीलाई टक्कर दिइरहेका छन् ।
वीरगञ्जको बजार क्षेत्रको मतगणना हुँदा सराबगी अघि बढेका हुन् । बजार क्षेत्र मारवाडी समुदायको बाक्लो बसोबास भएको ठाउँ हो । यहाँबाट विगतमा काँग्रेसलाई बढी मत जाने गरेको थियो । तर, यस पटक यो भोट सराबगीले पाएको देखिन्छ । तर, झन्डै आधा मत गणना गर्न बाँकी रहेकाले अझै पनि कुन उम्मेदवारले जित्छन् भन्ने आँकलन गर्न निकै गार्हाे देखिन्छ । अब वीरगञ्जमा कुनै पनि वडा कुनै पार्टीका गणका रूपमा रहेनन् ।
विगतको मत आधार हेर्दा अब गन्न बाँकी वडाहरुमा काँग्रेस एमालेको प्रतिस्पर्धा हुनुपर्ने हो । यदि एमालेले आफ्नो मत जोगाउन सकेको रहेछ भने द्धिबेदीलाई फाइदा हुन सक्छ ।
त्यस्तै, बाराकाे कलैया उपमहानगरमा एमालेले झिनो अग्रता कायम राखेको छ । आइतबार बिहानसम्म कलैयाको मेयरमा एमालेका विनोद साह ७०२२ मतका साथ अग्रस्थानमा छन् । भने, उनलाई काँग्रेसका राजेश यादवले ६८५२ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका सङ्घीय समाजवादी फोरमका प्रमोद गुप्ताले ६३७८ मत ल्याउदै चुनाैती पेस गरिरहेका छन् ।
“








