निर्वाचित जनप्रतिनिधिलाई सम्मान

किशोर खनाल, भरतपुर । नेकपा एमालेको भातृसंगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जिल्ला कार्यसमितिले चितवनका एमाले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा एमालेका स्थानीय तहका नेताहरुले मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा एमाले पहिलो शक्ति बन्ने दावी गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एमालेका चितवन जिल्ला अध्यक्ष तथा सांसद कृष्णभक्त पोख्रेलले अबको चुनावमा एमालेले सके दुईतिहाइ नभए पनि बहुमत जसरी पनि ल्याउने बताए ।

‘यस वर्षको चाडबाड एमाले पार्टीमय बनाउन पर्छ । एमालेको बहुमत सुनिश्चित छ’ अध्यक्ष पोखे्रलले भने । उनले जसलाई जिम्मेवारी दिँदा दाग लाग्दैन, त्यस्तो भूपू सैनिक तथा प्रहरीहरुलाई जिम्मेवार तहमा लैजाने बताए ।

कार्यक्रममा एमालेका मोर्चा फाँटका प्रमुख घनश्याम भट्टराईले भूपू सैनिक तथा प्रहरीहरुलाई पार्टी संगठनमा होमिएर लाग्न निर्देशन दिएका थिए । उनले भूपू सैनिक तथा प्रहरीहरु निष्ठावान हुने बताए । उनले भूपू सैनिक तथा प्रहरी संगठन अक्षयकोषमा आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष पूर्णबहादुर श्रेष्ठले संगठनलाई बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट उल्लेखनीय भूमिका खेल्न निर्देशन दिएका थिए । कार्यक्रममा एमालेबाट निर्वाचित भएका वडाध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । चितवनका स्थानीय तहका ३० भन्दा बढी जनप्रतिनिधि उपस्थित थिए ।

संगठनले सञ्चालन गरेको अक्षयकोष स्थापनामा सहयोग गर्नेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता गरेका संगठनका अध्यक्ष दधिराम देवकोटाले संगठनको गतिविधि प्रस्तुत गरेका थिए । उनले भूपू सैनिक तथा प्रहरीहरुलाई पार्टीले केन्द्रीय तहमा न्यूनमात्रामा अवसर दिएको बताए । भूपू सैनिक तथा प्रहरीहरुलाई संवोधन हुन नसकेको उनको गुनासो थियो ।

कार्यक्रममा निर्वाचित वडाध्यक्षको तर्फबाट भरतपुर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले जनताले दिएको भरोषा नटुट्ने गरी काम गरेको बताए । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य धु्रव लम्सालले संगठनलाई मजबुद बनाउन आग्रह गरेका थिए । कार्यक्रममा एमाले प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि कृष्णभक्त पोख्रेलले स्वागत गर्दै सम्मान गरेका थिए ।

विजयादशमी तथा शुभ दीपावली एवम् छठको शुभकामना आदानप्रदान समेत गरिएको उक्त कार्यक्रममा संगठन विस्तार गर्ने उद्घोष गरिएको थियो । नेकपा एमालेको भातृसंगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन ६६ जिल्लामा गठन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =