देउवा नेतृत्वको सरकार सत्ता टिकाउने खेलमा : एमाले अध्यक्ष ओली

“काठमाडौं, असोज ४ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार सत्ता टिकाउने खेलमा लागेको आरोप लगाउनु भएको छ । एमालेले नवलपरासीको गैंडाकोटमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार सत्ता टिकाउनका लागि विदेशीसँग जस्तोसुकै सम्बन्ध राख्न तयार भएको बताउनुभयो ।
आर्थिक समृद्धि र संविधान कार्यान्वयनको समयमा सरकार सत्ता बचाउने खेलमा लागेकाले राष्ट्रिय स्वाधीनता धरापमा परेको उहाँले टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकार मन्त्री थप्ने र विदेशीसँग घुँडा मात्र टेक्ने गरेपछि मुलुक अनिर्णयको बन्दी बनेको छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले न्यायलयले सरकारसँग मिलेर भरतपुरका देवी ज्ञवाली र प्रहरी अधिकारी नवराज सिलवाल माथी अन्याय गरेको आरोप लगाउनुभयो । आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावको नतिजा पनि एमालेकै पक्षमा आउने उहाँको दाबी छ ।”








