बूढासुब्बा गोल्डकप : आयोजकलाई हराउदै युनाइटेड सेमिफाइनलमा

फागुन ११, धरान । आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै भारत बंगालको युनाइटेड कर्साङ फुटबल क्लबले बूढासुब्बा गोल्डकपमा बिजयी सुरुवात गरेको छ । शनिबार धरान रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजकलाई ४–२ पराजित गर्दै युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको हो ।
युनाइटेडले टाइबे्रकरमा धरानलाई ४-२ गोलले पराजित गर्यो । निर्धारित सयमको खेल १-१ गोलको बराबरीमा सकिएपछि भएको टाइबे्रकरमा युनाइटेडले जित हात पारेको हो ।
युनाइटेडका सिदान्त क्षेत्री, प्रशान्त राई, विरेन प्रधान र प्रयास प्रधानले गोल गरे । धरान फुटबलका लागि हेमन्त थापा, मनिष गुरुङले गोल गरे भने विक्रम लिम्बु र मनोज राईले गरेको प्रहार गोल पोष्टमा दिशा लिन सकेन ।

खेलाडी अभाव भएर निरास आयोजक क्लवले शुक्रबार मात्र आफ्नो टिमका लागि खेलाडीहरु जुटाएको थियो । आयोजक धरानका सुनिल खड्काले खेलको ३५ औं मिनेटमा खाता खोलेका थिए । दोश्रो हापको ७७ औं मिनेटमा भारतका सिद्धान्त क्षेत्रीले गोल गरेर खेललाई बराबरी बनाएका थिए ।
खेलको म्यान अफ दि म्याच भारतका वाङदेन तामाङ घोषित भए । प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गरेका थिए । प्रतियोगिताअन्तर्गत आज नेपाल पुलिस क्लब र मेची नेत्रालय फुटबल ट्रेनिङ सेन्टरबीच खेल हुनेछ ।








