प्रदेश नम्बर २ मा मतगणना जारी, कांग्रेस अगाडि एमाले पछ्याउँदै

काठमाडौं, असोज ४ । प्रदेश नम्बर २ मा अस्ती भएको स्थानीय तह निर्वाचनको मतगणनाको काम जारी छ । प्रदेश नम्बर दुईका आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तह मध्ये सप्तरीको राजबिराज नगरपालिका बाहेक सबै स्थानीय तहमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

कतिपय स्थानीय तहमा वडा तहको नतिजा भने आएको छ । पछिल्लो जानकारीअनुसार ४४ स्थानमा कांग्रेसको अग्रता छ । दोस्रो स्थानमा रहेको एमाले २४ स्थानमा अगाडि छ । त्यस्तै समाजवादी फोरम र राजपा १७÷१७ स्थानमा अगाडि छन् । माओवादी केन्द्र १४ स्थानमा अगाडि छ । अन्य दल भने ३ स्थानमा अगाडि रहेका छन् । सबैको चासोको रुपमा रहेकोे बिरगञ्ज महानगरपालिकामा राती अबेरबाट कांग्रेसले अग्रता लिएको छ ।

दोस्रो स्थानमा राजपा र तेस्रो स्थानमा संघिय समाजबादी फोरम रहेका छन् । त्यस्तै जनकपुर उपमहानगरमा राजपाले अग्रता लिईरहेको छ । कांग्रेसले उसलाई पछ्याईरहेको छ । बाराको जितपुर सिमरा उपमहानगरपलिकामा भने एमाले अगाडी छ । दोस्रो स्थानमा कांग्रेस छ । त्यस्तै बाराकै अर्को उपमहानगरपालिका कलैयामा समाजबादी फोरम पहिलो र एमाले दोस्रो स्थानमा छ ।

अन्य ठाउँमा पनि कांग्रेस र एमालेबीच नै मूख्य प्रतिस्पर्धा देखिएको सामुदायिक रेडियोहरुले खबर पठाएका छन् । सप्तरीको राजविराज नगरपालिकाको वडा नम्बर १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले त्यो वडामा असोज ५ गते मतदान तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =