वीपी प्रतिष्ठानमा कर्मचारीको धर्ना जारी, आज देखि प्रशासनिक काम ठप्प

भरतराज शर्मा, धरान । धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले भ्रष्टचार र अनियमिता छानबिन, अस्पताल सेवाको विस्तार तथा गुणस्तर वृद्धि र कर्मचारीहरूको सेवा सुविधा सम्बन्धी विभिन्न २१ बुँदे माग राख्दै साता अघिदेखि गर्दै आएको धर्नालाई जारी राखेका छन् ।

कर्मचारी कल्याण समाजको आव्हानमा भएको धर्नालाई उपकुलपति डा. राजकुमार रौनियारले हल्का रूपमा हेरी समस्या समाधान तर्फ ध्यान नदिएकाले आजबाट सबै प्रशासनिक कार्यलाई ठप्प पार्ने घोषणा गरिएको समाजका अध्यक्ष सजेन्द्र तामाङले जानकारी दिए ।

अधिकार विहिन वार्ता समिति मार्फत अल्मलाउन खोजेको भन्दै कर्मचारीको माग प्रति उपकुलपतिको उदासिनता र मौनतालाई तोड्न थप दबाब दिन आवश्यक भएकाले प्रशासनिक काम ठप्प पारिएपनि बिरामीको उपचार सेवालाई भने कुनै प्रभाव नपार्ने तामाङले बताए ।

वार्ता समितिका संयोजक रजिष्ट्रार तुलबहादुर श्रेष्ठ लगायत सदस्यहरू डा. पशुपति चौधरी, डा. नितेश सापकोटा र डा. नारायणराज भट्टराईले वार्ताको सुरुमै आफुहरुलाई माग पूरा गर्ने गरी सहमति गर्ने अधिकार नभएको भनेपछि वार्ता अघि बढ्न नसकेको अध्यक्ष तामाङले बताए ।

कर्मचारीहरुले राखेका मागहरू जायज भएकाले तत्काल सम्बोधन गर्न माग गर्दै विभिन्न सङ्घ संस्थाले धर्ना स्थलमा आई एक्यवद्धता जनाएका छन् । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सागर प्रसाई, नागरिक अधिकार संरक्षण समिति धरानका अध्यक्ष प्रेमकुमार राई, नेपाल आदिवासी जनजाति सङ्घ, सुनसरीका सभापति नन्दराज राई र नेविसंघ सुनसरीका १ नं. सभापति बालकुमार राईले कर्मचारी आन्दोलनप्रति एक्यवद्धता जनाएका छन् ।

प्रतिष्ठानका वरिष्ठ डाक्टरहरु डा. प्रल्हाद कार्की, डा. चन्द्रशेखर अग्रवाल, डा. विष्णुहरि पौडेल, डा. निर्मल बराल, नर्सिङ प्राध्यापक श्याम लम्साल लगायतले समेत कर्मचारीहरूको माग जायज भएको भन्दै धर्ना स्थलमा आई समर्थन जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =