विधान व्यवस्थापन समितिद्वारा पारमाणविक विधेयक पारित

फागुन २८, काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको पारमाणविक विधेयक, २०७५ पारित गरेको छ । 

समितिको बुधबारको बैठकले प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको उक्त विधेयक समितिले दफाबार छलफलपछि पारित गरेको हो । समितिका सभापति परशुराम मेघी गुरुङले प्राविधिक विषय भएको हुनाले समितिमा गहन छलफल गरेर पारित गरेको जानकारी दिँदै बिहीबार सदनमा पेश गर्ने बताएका छन् ।   

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि समितिमा भएको सहमतिमा मन्त्रालय सहमत रहेको र यससम्बन्धी कानून भएका कारणले धेरै काम रोकिएकाले अब सहज हुने बताए । मन्त्री पोखरेलले पारमाणविक विधेयक संवेदनशील भएको र यसलाई नियमन गर्न विज्ञता, विश्वविद्यालय, अन्तरमन्त्रालय र सुरक्षाको दृष्टिकोणले प्राधिकरण नै आवश्यक भए पनि आर्थिकभार कम गर्ने गरी मन्त्रालयको विभाग तहको संस्थागत संरचना रहने व्यवस्था गरिएको स्पष्ट पारे।   

विधेयकमा पारमाणविक वा रेडियोधर्मी पदार्थ र संयन्त्रसम्बन्धी क्रियाकलाप वा अभ्यास सञ्चालन गर्न इजाजतपत्र लिनुपर्ने, त्यसको नियमन र इजाजतपत्रमा भएका शर्तविपरीत काम गरेमा सजाय हुनेलगायतका व्यवस्था समेटिएको छ । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *