कैलालीमा प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना

“
विष्णु जोशी, धनगढी । कैलालीको धनगढीमा चाडपर्वलाई मध्य नजर गरेर कैलाली प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको जनाएको छ । धनगढी सहित कैलालीका प्रमुख सहरहरूमा आउँदै गरेकाे दसैँ, तिहार छठ लगायतका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाउँदै मातहतका सबै निकायलाई निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलालीमा प्रहरीको बिदा रद्ध गर्दै थप खटनपटनत मिलाउनुका साथै गस्तीहरु समेत बढाईएको प्रहरीले जनाएको छ ।
चाडपर्वमा विशेष गरेर चोरी, डकैती, लुटपाट, रक्सी खाएर झगडा गर्ने, गुण्डागर्दी, जस्ता अपराध हुने गर्दछन् । यस विरुद्ध प्रहरीले कडा रूपमा निगरानी गर्ने कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्दले बताए । प्रहरीले शहरी क्षेत्र र ग्रामीण इलाकामा पनि उत्तिकै सुरक्षा सतर्कता अपनाउदै कार्य गरिरहेको जनाएको छ । शहरी क्षेत्रका महत्त्वपूर्ण आर्थिक कारोबार हुने ठाउँमा थप सुरक्षा दिन थालीएको प्रहरीको भनाई छ । सुरक्षाका लागि पर्याप्त गस्तीको व्यवस्थापन गरिएको र सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर नागरिकको सुरक्षामा विशेष ध्यान दिने प्रहरीले जनाएको छ । आर्थिक कारोबार हुने, बैङ्क, वित्तीय संस्था, बसपार्क लगायत भिडभाडयुक्त ठाउँमा पनि प्रहरीको निगरानी कडा पारीने चन्दले बताए ।
चाडपर्वमा विभिन्न प्रलोभन देखाएर ठगी हुने गरेकाले पनि त्यसप्रति सजग रहन प्रहरीले अनुरोध गरेको छ । कुनै पनि चोरी डकैती तथा अपराध भएमा तत्काल खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ । तर, प्रहरीले सुरक्षा योजना बनाउँदै थप निगरानी र गस्ती बढाएको बताए पनि धनगढीमा दिनदहाडै चोरीका घटनाहरू बढीरहेका कारण नगरवासीहरुले सुरक्षित महसुस गर्न नसकेको गुनासो गरेका छन् । चाडपर्व अपराधीका लागि अवसर हुने भएकाले यसको नियन्त्रण गर्न प्रहरीले तदारुकताका साथ काम गर्नुपर्ने धनगढीको रातोपुलका स्थानीय वीर बहादुर महराले बताए ।
“








