मलेसियाको एक विद्यायलमा आगलागी हुँदा २२ विद्यार्थी र दुई शिक्षकको मृत्यु

“
कवालालम्पुर, २९ भदौ । मलेसियाको एक धार्मिक विद्यालयमा बिहीबार बिहान भएको आगलागीमा परी कम्तीमा पनि २४ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आगलागीमा परी २२ जना विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त विद्यालय बालकहरुका लागि मात्र हो ।
यस आगलागीमा परी मृत्यु भएका व्यक्तिमा अधिकांश १३ देखि १७ वर्षका रहेका जनाइएको छ । अधिकारीहरुका अनुसार केही बर्षयता भएका भीषण आगलागी मध्ये यो सबैभन्दा खतरनाक हो । आगलागी बिहीबार बिहानको मिर्मिरेपूर्व नै भएको थियो । त्यस समयमा बालकहरु सुतिरहेको अनुमान गरिएको छ ।
बिहानीको हिँडाई (मर्निङ वाक) का लागि नागरिकहरू सडकमा गएका बेला उक्त विद्यालयको माथिल्लो तलामा आगोको मुस्लो निस्किएको देखेका थिए । साथै, बालकहरुले भित्रबाट बचाउ बचाउ भन्दै रोइरहेको आवाज पनि उनीहरूले सुनेका थिए । त्यसपछि उनीहरूले नै प्रहरी र दमकललाई खबर गरेको बताइएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरको मध्य भागमा रहेको इस्लामिक धार्मिक विद्यालय ताहफिजमा बिहीबार बिहानै आगलागी सुरु भएको थियो । स्थानीय टेलिभिजनहरुले देखाएका दृश्यहरुमा आगलागीको कारण ठुलो धुवाँको मुस्लो र खरानी उडेको तथा सो विद्यालयबाट किशोरहरु भाग्ने कोसिस गरिरहेका र भागेका देखिन्छ ।
क्वालालम्पुरका प्रहरी प्रमुख अमर सिंहका अनुसार सो आगलागीमा परी मृत्यु भएका व्यक्तिको शरीर पुरै जलेको थियो । दुर्भाग्यवश यस विद्यालयमा एउटै मात्र प्रवेशद्धार रहेको र सबै शवहरु एकको माथि अर्को गरी त्यहीँ थुप्रिएको दृश्य पनि टेलिभिजनहरुले देखाएका छन् ।
मलेसियाको आगलागी उद्धार विभागका निर्देशक खिरुदिन ड्राहम्यानले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुुसार यो यस देशको २० बर्षयताको सबैभन्दा भीषण आगलागी हो । प्रहरीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको छ । प्रहरीको प्रारम्भिक अनुमानमा उक्त विद्यालय भवनमा विद्युतीय गडबडीबाट आगो निस्किएको पाइएको जनाइएको छ । रासस/एएफपी
“








