सकियो हात्ती महोत्सव, पोलोको उपाधी खैरहनीले जित्यो

पुष १८, चितवन । पर्यटन प्रर्वधन गर्ने उदेश्यका साथ चितवनको सौराहामा आयोजना गरिएको हात्ती महोत्सव शुक्रबार सकिएको छ ।
मौसम प्रतिकुलताका बीच प्रदेश ३ का प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यतामा १६ औं संस्करणको हात्ती महोत्सवको समापन गरिएको हो । क्षेत्रीय होटल संघ नेपाल चितवनले प्रत्येक वर्ष हात्ती महोत्सव आयोजना गर्दै आएको छ ।
महोत्सवको अन्तिम दिन हात्ती पोलो र हात्तीका छावाहरुको फुटवलको फाईनल भएको थियो । मौसमका कारण दुवै खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । हात्ती पोलोमा खैरहनी नगरपालिकाले रत्ननगर नगरपालिकालाई पराजीत गर्दै यस वर्षको उपाधी जितेको महोत्सवको प्रतियोगिता संयोजक अन्जन पाण्डेले बताए ।

खैरहनीले पेनाल्टीमा १ गोल गर्दा रत्ननगरले कुनै गोल गर्न सकेन । ३,३ जनाले पेनाल्टी प्रहार गरेकोमा खैरहनीको तर्फबाट २ बल वाहिरिन पुग्दा रत्ननगरको ३ वटै प्रहार बिफल भएको संयोजक पाण्डेले बताए ।
त्यस्तै हात्तीका छावाहरुको फुटवलको उपाधी चितवन उद्योग संघले जितेको छ । पेनाल्टी मार्फत गरिएको फाईनल खेलमा चितवन उद्योग संघ २–० ले बिजयी भयो । संघका लागि सौराहाजग र रिमझिमकलीले समान एक एक गोल गरेको प्रतियोगिता संयोजक पाण्डेले बताए ।
समापन कार्यक्रम क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा भएको थियो । पुष १० गतेदेखी सुरु भएको महोत्सवमा हात्ती पोलो र फुटवल बाहेक हात्ती श्रृंगार, हात्ती बनभोज, हात्ती सुन्दरी, गाढा श्रृंगार, महिलाबीच भलिबल, डुंगा दौड, हात्ती फास्ट वाक प्रतियोगिता लगायतका गतिविधी भएका थिए ।








