जेभियर र गोल्डेनगेट फाइनलमा

माघ २१, काठमाडौं ।  जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन् । 

जेभियरले ह्वाइटहाउसलाई ५०–४९ को झीनो अन्तरले पराजित गर्‍यो । जेभियरको जितमा शिशिर कुँवरले २४ अंक योगदान गरे । सुशिल घलेको १८ अंक सहयोगमा गोल्डेनगेटले न्यु जेनिथलाई ४४–३८ ले हरायो । 

स्कुलको ब्वाइजतर्फ ज्ञान निकेतन र नेरिक एकेडेमी उपाधिका लागि भिड्ने भएका छन् । ज्ञान निकेतनले इनोभेटिभलाई ७१–५१ ले पाखा लगायो । ज्ञान निकेतनकान विवेक यादवले २० स्कोर गरे । नेरिकले पुष्पसदनको चुनौती ४१–३९ ले पन्छायो । नेरिकका जीवन शाहीले १७ अंक जोडे । फाइनल बुधबार हुने छ । 

null

इनोभेटिभको दोहोरो जित 

आयोजक इनोभेटिभ इङलिस स्कुलले नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ मंगलबार दोहोरो जित हात पारेको छ । 

बुद्धनगरस्थित घरेलु कोर्टमा भएको उद्घाटन खेलमा इनोभेटिभले स्वप्न वाटिका एकेडेमीलाई २३–१० ले पराजित गर्‍यो । इनोभेटिभकी सोभ्य महर्जनले ६ अंक जोडिन् । अर्को खेलमा इनोभेटिभले रेडिअन्टलाई २२–१६ ले हरायो । इनोभेटिभकी रुजना डंगोलले ८ अंक जोडिन् । 

सिनियर ब्वाइजमा इनोभेटिभ र ह्वाइट हेभेन विजयी भए । इनोभेटिभले हिमालीमाथि ६३–४२ को जित दर्ता ग¥यो । इनोभेटिभका रेनिश खड्काले १९ अंक जोडे । ह्वाइट हेभेनले एस्फोडेललाई ३४–२४ ले पाखा लगायो । ह्वाइट हेभेनका निगम राना मगरले १४ स्कोर गरे । 

प्रतियोगिताको पूर्व राष्ट्रिय बास्केटबल खेलाडी रविन्द्र महर्जन र आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ चौलागाईंले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । लिग कम नकआउट प्रतियोगिताको सिनियर ब्वाइजमा १० तथा सिनियर गल्र्समा ८ टिम सहभागी छन् । फाइनल माघ २७ गते हुने छ । 

कौस्तुभलाई उपाधि 

कौस्तुभ एकेडेमीले प्रथम काठमाडौं महानगर प्याब्सन कप छात्र फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । 

काठमाडौं महानगर प्याब्सन कमिटीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा कौस्तुभले सेचेनलाई १६–१ को विशाल गोलअन्तरले पराजित गर्र्‍यो । कौस्तुभको शानदार जितमा लक्ष्मण गुरुङले ७, विवस मगर र जोसेफ गोलले समान ४–४ तथा रविन बमले १ गोल योगदान गरे । सेचेनका ग्याल्चेन लोले सान्त्वना गोल गरे । विवस फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए । 

समता शिक्षा निकेतनले नेपाल तारालाई सडन डेथ (९–८) मा हराउदै तेश्रो भयो । निर्धारित समयको खेल ४–४ को बराबरीमा सकिएको थियो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे । नगद पुरस्कार आईसीएफसी फाइनान्स लिमिटेड र हिमालयन डेन्टल अस्पतालले प्रायोजन गरेको हो । 

बौद्धस्थित एरिना फुटसलमा भएको प्रतियोगितामा समताका दीपेन्द्र तामाङ उत्कृष्ट खेलाडी, कौस्तुभका अमरबहादुर नेवार उत्कृष्ट गोलरक्षक तथा कौस्तुभकै लक्ष्मण गुरुङ सर्वाधिक गोलकर्ता बने । उत्कृष्टत्रयले समान २–२ हजार नगद पुरस्कार पाए । 

विजेतालाई संघीय सांसद् कृष्णबहादुर राई, काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, आयोजक काठमाडौं महानगर प्याब्सन कमिटीका अध्यक्ष मुरारीप्रकाश सन्जेल, वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक ज्ञानबहादुर श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ३२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । 

सेब विजयी 

सेबले चौथो भानुभक्त मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेको छ । 

सेबले गोल्डेनपिकलाई २७–२४ ले पराजित गर्‍यो । जुनियर ब्वाइजमै इस्टपोलले ग्रिनफिल्डलाई २५–२० तथा आयोजक भानुभक्तले मिमोनिकलाई ११–८ ले हराए । 

सिनियर ब्वाइजमा नवोदितले काठमाडौं जेभियरलाई ४९–३५, न्यु बुद्ध प्रकाशले ज्ञानोदयलाई २८–२० र न्यु समितले सेबलाई ४७–३२ ले पाखा लगाए । सिनियर गल्र्समा आयोजक भानुभक्तले केएमसीलाई १९–१० तथा टीआईएले ज्ञानोदयलाई ३०–२० ले पन्छाए । 

प्रथम भानुभक्त मेमोरियल अन्तरविद्यालय नेटबलमा आयोजक भानुभक्तले सेबलाई २८–५ तथा मंगलदीपले ज्ञानोदयलाई ३८–९ ले निराश पारे । 

 नेक्सस र ग्लोबल फाइनलमा 

नेक्सस र डिफेन्डिङ च्यामिपयन ग्लोबल पब्लिक स्कुल नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । 

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको सेमिफाइनलमा नेक्ससले न्यु होलीक्रसलाई ४–० तथा ग्लोबलले अर्किडलाई १–० गोलले पराजित गरे । फाइनल माघ २५ गते हुने छ । न्यु होलीक्रस र अर्किडबीच तेश्रो स्थानका लागि बिहीबार खेल हुने छ । 

गणेशमान सिंह रोड फागुन अन्तिम साता 

नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा फागुन अन्तिम साता गणेशमान सिंह एडिडास टेन–के रोड रेस प्रतियोगिता आयोजना हुने भएको छ । 

रुट्स फेसन प्रालिको आयोजनामा फागुन २४ गते हुने रोड रेस १० किलोमिटरको हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एडिडास सोरुम दरबारमार्गबाट सुरु हुने रोड रेस रत्नपार्क, भद्रकाली, सहिद गेट, वीर अस्पताल, जमल, केशरमहल, महाराजगन्ज, बालुवाटार, टंगाल, नागपोखरी हुँदै पुनः दरबारमार्गमा पुगेर समापन हुने रुट्स फेसनका प्रालिका प्रबन्ध निर्देशक सञ्जीव तुलाधरले जानकारी दिए । 

प्रतियोगिताको महिला तथा पुरुषतर्फका विजेताले ६० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुनेले जनही पाँच हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा छैटौंदेखि १०औं स्थान हात पार्नेले चार हजार बराबरको गिफ्ट ह्याम्बर पाउने छन् । 

प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख खर्च हुने रुट्स फेसनका प्रालिका निर्देशक राजीव श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नेपालका चर्चित खेलाडीको सहभागिता रहने छ । लामो दूरीका खेलाडीलाई निखार्ने काम गर्ने भएकाले १० किलोमिटर दौड आयोजना गरिएको रेस डाइरेक्टर सुशील नरसिंह राणले जानकारी दिए । 

यसअघि सन् २०१४ मा पहिलो संस्करण आयोजना गरेको रुट्स फेसनले आगामी संस्करणलाई निरन्तरता दिने जनाएको छ । 

जमेश र सिल्भियालाई स्वर्ण 

ह्वाइटफिल्डका जमेश खत्री र युसीपीएसकी सिल्भिया कार्कीले तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको जुनियर यु–१४ सिंगल्समा मंगलबार स्वर्ण जितेका छन् । 

ब्वाइज फाइनलमा जमेशले प्रिमियरका सगुन श्रेष्ठलाई ११–५, ७–११, ९–११, ११–३ र ११–६ को सेटमा पराजित गरे । एन्जल्स हार्टका युवराज खत्री तथा हेराल्डका दिवस नकर्मी संयुक्त रुपमा तेश्रो भए । 

गल्र्सको उपाधि भिडन्तमा सिल्भियाले फ्युचर स्टारकी सुजिता श्रेष्ठलाई १४–१२, ११–६ र ११–८ को सेटमा हराइन् । आईएमएसकी ओजश्वी पौडेल तथा बीडिएसकी सुप्रिता महर्जन तेश्रो भए । प्रतियोगिताअन्तर्गत खुलातर्फको सिंगल्स खेलहरु मंगलबारदेखि सुरु भएको छ । 

दुई नेपाली जोडी क्वाटरफाइनलमा 

काठमाडौं आईटीएफ जुनियर्स जे– ५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ अन्तर्गत मंगलबार नेपालका दुई जोडी महिला डबल्समा क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

नेपालका अभिलाषा विष्ट र इरा रावतको जोडीले भारतकी मार्यम सेराज र नेपालकी रायना शाहको जोडीलाई ७–६९६० र ६–२ तथा नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले भारतकी सताभिसा घोष र नेपालकी प्रकृति श्रेष्ठको जोडीलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेका हुन् । 

पुरुष/महिला सिंगल्समा भने नेपालको चुनौती समाप्त भइसकेको छ । दोश्रो दिन मंगलबारको खेल सकिँदा  प्रतियोगितामा समावेश पुरुष÷महिला सिंगल्स र डबल्स चारै स्पर्धामा क्वाटरफाइनल समीकरण पूरा भएको छ । 

अशोक मेक्सिको प्रस्थान 

मेक्सिको मा फेब्रुअरी ६ देखि ९ तारिख सम्म पुयर्ट्रो भालाट्रा सहरमा आयोजना हुने ¥याङकिङ गेम मेक्सिको ओपन जि वान अन्तर्राष्ट्रिय ग्यारोगी, पुम्से र पारा विधा को प्रतियोगिता को लागि निर्णायक को भुमिका निर्बाह गर्नको लागि अशोक खड्का  मङलबार मेक्सिको प्रस्थान गरेका छन् । 

अशोकलाई नेपाल तेक्ववान्दो  सघका उपाध्यक्ष भानबहादुर चन्द ले एक कार्यक्रमका बीच नेपाल तेक्वान्दो संघ को केन्द्रिय कार्यालय सात्दोबाटोमा बिदाइ गरेका थिए। अशोक तेक्वान्दोका ग्यारोगी, पुम्से र पारा  तीन बिधाका नेपालका एक मात्र  अन्तर्राष्ट्रिय निर्णायक हुन्। 

अपराजित एपिएफको दोहोरो जित 

काठमाडौं, २१ माघ । उपाधि दावेदार विभागीय नेपाल एपिएफ क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ । 

अपराजित रहेको एपिएफले पारामाउन्ट स्कुललाई तथा दोस्रो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) माथि सहज जित निकाल्दै दोहोरो जित हात पारेको हो । पहिलो खेलमा पारामाउन्टमाथि २५–५, २५–१८ र २५–६ को सहज जित निकालेको एपिएफले दोस्रो खेलमा आयोजक ढोरपाटनमाथि २५–६, २५–८ र २५–५ को सहज जित हात पा¥यो । दोहोरो जितसँगै एपिएफले ७ खेलबाट २० अंक जोडेर शीर्षस्थानमा पकड बनाएको छ । दोस्रो स्थानको पुलिसको ६ खेलबाट १६ अंक रहेको छ । अपराजित रहेको पुलिसले मंगलबारै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–१ को सेटमा जित हात पारेको थियो । पुलिसले आर्मीलाई २५–२२, २५–२१, २०–२५ र २५–२२ को सेटमा हराएको थियो । आर्मीको ५ खेलबाट ९ अंक छ । 

यस्तै तीन इरानी खेलाडी समेटेको चितवन टाइगर्सले शतप्रतिशत जितलाई निरन्तरता दिदा चुली युवा क्लबमाथि २५–९, २५–११ र २५–११ को सहज जित हात पारेको छ । चितवनको यो लगातार तेस्रो जित हो । चितवनको ३ खेलबाट ९ अंक पुगेको छ । यस्तै पारामाउन्टले लिगमा पहिलो जित हात पार्ने क्रममा सेवमाथि २५–२३, २५–२३ र २५–१९ को सहज जित निकालेको छ । पारामाउन्टले ८ खेलबाट ३ अंक जोडेको छ । ७ खेल खेलेको सेव र ६ खेल खेलेको चुलीले अंक जोड्न सकेको छैन । होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र बुलबुले रारा भलिबल क्लबबीचको खेल लाइट प्रोटेस्टका कराण स्थगित गरिएको छ । लिगमा बुधबार ५ खेल हुने आयोजकले जनाएको छ । 

विभागीयसहित दुई प्रदेश विजयी 

दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा प्रदेश ५, बाग्मती र नेपाल आर्मी विजयी भएका छन् । 

नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा प्रदेश ५ ले प्रदेश २ लाई ६–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । प्रदेश ५ का लागि म्यान अफ द म्याच अमन कुमारले ८ र ५४ औं मिनेटमा गोल गरे भने २० र ४८ औं मिनेटमा राजन कुमार गोल थपे । त्यस्तै ३४ र ३९ औं मिनेटमा मनिष गुरुङले गोल गर्दै टिमलाई विजयी दिलाए । 

त्यसैगरी, दोस्रो खेलमा बाग्मती प्रदेशले प्रदेश १ लाई २–० गोल अन्तरमा पराजित गरेको छ । बाग्मतीका समिर घिमिरेल ५३ औं मिनेटमा गोल गरे भने म्यान अप द म्याच सुरज घर्ती मगरले ५८ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे । 

त्यस्तै तेस्रो खेलमा नेपाल आर्मीले सुदूरपश्चिमलाई ४–० गोलले पराजित गरेको छ । आर्मीका दीपेन्द्र ऐरले ३७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ४२ र ४६ औं मिनेटमा रोमन रानाले गोल गरेभने ५८ औं मिनेटमा नरेन्द्र कार्कीले गर्दै टिमलाई विजयी दिलाए । खेलको म्यान अफ द म्याच रोमन राना भए ।   

प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको छ । विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग लिएका छन् । 

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रोले नगद १५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् । त्यस्तै व्यक्तिगत पुरस्कारतर्फ उदयीमान खेलाडी, सर्वाधिकगोलकर्ता, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडीले जनही नगद ५ हजार पाउने छन् ।   

प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेल बाग्मती प्रदेश र नेपाल आर्मी, दोस्रो खेल गण्डकी प्रदेश र प्रदेश २ तथा तेस्रो खेल सुदूरपश्चिम प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =