जोखिमको अवस्था विश्लेषणपछि सबै परीक्षा स्थगित : शिक्षामन्त्री पोखरेल

चैत्र ५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड– १९ को सङ्क्रमणको पछिल्लो अवस्थाको समग्र विश्लेषण गरेर माध्यमिक शिक्षा परीक्षा (एसइई) र विभिन्न विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षा स्थगनको निर्णय भएको बताएका छन् । 

उनले विश्वस्वास्थ्य सङ्गठनको विश्वव्यापी मूल्याङ्कन र नेपालको स्थितिलाई हेरेर स्थगन परीक्षाको नयाँ कार्यतालिका चाँडै सार्वजनिक हुने बताएका छन् ।   

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा रहेको कोभिड– १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले सो निर्णय गरेको हो ।   

null

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थितिको जानकारी गराएपछि प्रधानमन्त्री ओलीको निर्देशनमा परीक्षा स्थगनको निर्णय भएको बताइएको छ ।   

समितिको निर्णयपछि शिक्षा मन्त्रालयका उच्च अधिकारी र सम्बन्धित पदाधिकारीको बैठकले सम्बन्धित सबैमा आधिकारिक सूचना प्रवाह गर्ने निर्णय गरेको थियो ।   

उच्चस्तरीय समितिले निर्णय गरे पनि परीक्षा बोर्डको बैठकले औपचारिक निर्णय गर्नुपर्ने व्यवस्था भएकाले आधिकारिक सूचना प्रवाहमा ढिलाइ भएको मन्त्रालयका अधिकारीले जनाएका छन् ।   

सो समितिले सङ्क्रमणको जोखिम बढ्दै गएको सन्दर्भमा २५ जनाभन्दा बढीको जमघट नगर्ने, विदेशबाट भाइरस आउन नदिन विभिन्न निर्णय गर्दै सबै प्रकारका गतिविधि रोक्ने र विशेष सतर्कता अपनाउने निर्णय गरेकाले परीक्षाका कार्यतालिका स्वभाविकरुपमा प्रभावित हुन पुगेको मन्त्री पोखरेलले बताए ।   

उनले भने, “आज दिउँसोसम्म हामी उच्च सतर्कतासहित एसइई परीक्षा सञ्चालन गर्न तयारीमा थियौँ तर सबै स्थितिको विश्लेषण गर्दा कुनै दिनका परीक्षा सञ्चालन गरेर बीचमा रोक्ने स्थिति आएमा समस्या हुने भएकाले हाललाई स्थगन गरेका छौँ । यस निर्णयले परीक्षाको तयारी गरेर बसेका विद्यार्थी र अभिभावकलाई असर परेको प्रति एकापसलाई बुझाउन र सञ्चारमाध्यमले सहजीकरण गर्न म आग्रह गर्दछु ।”   

समितिको बैठकले यही चैत मसान्तसम्म बाल विकास केन्द्रदेखि विश्वविद्यालयसम्मका सबै पठन पाठन बन्द गर्नेलगायत निर्णय पनि गरेको थियो । 

यही चैत ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने परीक्षामा चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका छन् भने देशभर एक हजार ९९५ केन्द्र निर्धारण गरिएको थियो । सरकारले कक्षा ९ सम्मका परीक्षा भने आजदेखि सकाउने गरी यसअघि नै निर्देशन दिइसकेको थियो ।   

यसअघि सरकारले एसइई परीक्षामा त्रसित नभई भाग लिन विद्यार्थीलाई आह्वान गर्दै सबै केन्द्रमा हेल्थ डेस्कको प्रबन्ध गरेको थियो । कोभिड– १९ को सङ्क्रमणको जोखिमप्रति सचेत हुन आग्रह गर्दै मन्त्री पोखरेलले सार्वजनिक अपिल जारी गरी परीक्षाका लागि पर्याप्त सावधानीको प्रबन्ध गरिएकाले त्रसित र भयभित हुनु नपर्ने उल्लेख गरिएको थियो ।   

त्रिविको परीक्षा पनि सर्ने 

यस्तै सरकारको निर्देशनका आधारमा आफ्ना पूर्वनिर्धारित परीक्षा स्थगन गर्नेबारेमा परीक्षा नियन्त्रण कार्यालयको बैठक बसेर बिहीबार निर्णय सार्वजनिक गरिने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 12 =