सांसदको व्यङ्ग्य : कोरोना जस्तै भ्रष्टाचार रुपी भाइरस फैलियो

माघ २२। काठमाडौं । सङ्घीय संसद्को एउटा अङ्गका रुपमा रहेको राष्ट्रियसभाको काम नभएको भन्दै गलत प्रचार गरिएकामा सभाकै एक सदस्यले गुनासो गरेका छन् ।
नेपालको संविधानले नै माथिल्लो सदनलाई विशेष भूमिका दिइएको भएपनि यसको प्रभावकारिता नभएको भन्दै विभिन्न कोणबाट प्रश्न उठाइएकामा सांसदले नै किन त्यस्तो भएको हो भन्ने प्रश्न गरे ।
नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले राष्ट्रियसभाको हैसियतमाथि नै प्रश्न उठ्ने गरेकाले सभालाई थप प्रभावकारी बनाउन माग गरे । उनले सभाले गरेका काम कारवाही नियमित रुपमा पत्रकार सम्मेलन गरी आम जनसमुदायलाई जानकारी दिनुपर्ने बताए ।

राष्ट्रियसभाको संवैधानिक हैसियत र काम कारवाहीबारे पुनः मूल्याङ्कन गरी थप प्रभावकारी बनाउन आग्रह गर्दै उहाँले सबै समितिलाई पर्याप्त काम उपलब्ध हुने गरी राष्ट्रियसभा नियमावलीमा सुधार गर्न माग गरे ।
यस्तै उनले राष्ट्रियसभाको भूमिकाबारे सातवटै प्रदेशमा विचार गोष्ठी गर्नुपर्नेमा पनि जोड दिए ।
वडाध्यक्षको हत्याको छानबिन गर्न माग
काँग्रेसका सांसद बद्री पाण्डेले सोमबार अछामका एक वडाध्यक्षको हत्या भएको भन्दै सो घटनाको उचित छानबिन गर्न माग गरेका छन् । जनप्रतिनिधि कार्य क्षेत्रभित्र असुरक्षित हुने अवस्थाले शान्तिसुरक्षाको अवस्था कति भयावह रहेको छ भन्ने देखाएको भन्दै उनले सरकारसँग जनताले अनुभूत गर्ने गरी शान्तिसुरक्षा र अमनचयनको व्यवस्था गर्न माग गरे ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामीको हत्या गरिएको अवस्थामा मङ्गलबार बिहान शव फेला परेको थियो । वडाध्यक्ष धामीको घरदेखि २०० मिटर परको भैँसीगोठमा उनको शव फेला परेको सांसद पाण्डेले जानकारी गराए । ४० वर्षीय धामी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । हत्या कसले र किन गरेको भन्ने विषयमा खुल्न सकेको छैन ।
वर्तमान सरकार गठन भएपछि जनताले राजनीतिक स्थिरता, शान्तिसुरक्षा र अमनचयन कायम हुने अपेक्षा गरेको भए पनि त्यस्तो नभएको भन्दै उहाँले अपराधीलाई कानूनको दायरामा ल्याउन राज्यसंयन्त्र चुकेको आरोप लगाए ।
कोरोना जस्तै भ्रष्टाचार रुपी भाइरस फैलियो
समाजवादी पार्टीका रामप्रीत पासवानले छिमेकी देश चीनमा फैलिएको महामारी नोवेल कोरोना भाइरसले माहामारी फैलिएको भन्दै त्यसबाट सुरक्षित हुने उपायबारे सरकारले चालेको कदमका बारेमा पनि आमरुपमा जानकारी दिन आग्रहगरेका छन् ।
उनले कोरोना भाइरस जस्तै नेपालमा भ्रष्टाचाररुपी भाइरस फैलिएको भन्दै त्यसको नियन्त्रणका लागि कडा कदम चाल्नुपर्नेमा जोड दिए । उनले गोकर्ण रिसोर्ट भाडा प्रकरण, मेलम्ची खानेपानी आयोजनालगायत ठेकेदार छनोटमा अनियमिता भएको भन्दै कवितामार्फत नै सरकारको व्यङ्ग्य गरे ।
नेकपाका सांसद रामलखन चमारले सरकारले राष्ट्रिय जनगणना गर्न लागेको सन्दर्भमा दलित तथा अल्पसङ्ख्यक समुदायको उचित तथ्याङ्क आउने गरी प्रबन्ध गर्न गर्न माग गरे ।
नेकपाका सांसद रामनारायण बिँडारीले सरकारको प्रमुख सूचनादाताका रुपमा रहेको राष्ट्रिय अनुसन्धान विभाग प्रभावकारी नभएको भन्दै गुनासो गरेका छन् ।
नेपाल भारतबीच भएको १९५० को सन्धि, सुगौली सन्धिको आधिकारिक दस्तावेज एवम् पुरातात्विक महत्वका पुराना मूर्ति कहाँ छन् ? भन्ने प्रश्न गर्दै उनले सरकारको गुप्तचरी निकायले आफ्नो भूमिका पूरा नगरेकोमा आपत्ति प्रकट गरे। उनले नेपालको सरकारी सेवामा रहेका कर्मचारीले विदेशी मुलुकका नागरिकता लिएर राष्ट्रिय गोपनीयता चुहाएको भन्दै त्यस्ता कर्मचारीलाई कारवाही गर्न माग गरे ।
सांसद बिँडारीले सरकारी सेवामा बसेकाले विदेशमा गएर जागिर खान नपाउने कानूनी व्यवस्था गर्न माग गरे ।
रासस








