प्रदेशसभा बैठकः प्रतिपक्ष गैरजिम्मेवार बनेको सत्तापक्षको आरोप

माघ २४, रुपन्देही । कार्यसूचीमै नभएको विषयमा काङ्ग्रेसले प्रदेश नं. ५ प्रदेशसभाको बैठक अवरुद्ध गरेको भन्दै सत्तापक्षका सदस्यहरुले विरोध गरेका छन् । 

यसअघि मङ्गलबार बसेको बैठक काङ्ग्रेसका प्रदेशसभा सदस्यहरुको अवरोधका कारण स्थगन भएपछि प्रदेशसभाको आजको बैठकमा यो विषयले प्रवेश पाएको हो । 

बैठकको विशेष समयमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले प्रतिपक्ष गैरजिम्मेवार बनेको आरोप लगाए । ‘प्रतिपक्ष गैरजिम्मेवार बन्यो, सदनमा के बोल्ने के नबोल्ने भन्ने विषयमा हेक्का हुनुपर्छ’, उनले भने, ‘सदन र सभामुखको गरिमालाई बचाऊँ ।’ 

null

सदस्य खरेलले सदनमै अमर्यादित भाषा प्रयोग गरेर नाराबाजी गरेर काङ्ग्रेसले सभाको मर्यादामा आँच आउने काम गरेको टिप्पणी गरे । उनले प्रदेशभित्रका विषय मात्रै सदनमा उठाउन सुझाव दिए । उनले भने, ‘कहिले डा. गोविन्द केसीका नाममा कहिले कार्यसूचीमै नभएको विषयमा सदन अवरुद्ध हुनु राम्रो होइन ।’ 

यसअघि मङ्गलबार बसेको बैठक कार्यसूचीमै नभएको विषयलाई लिएर प्रतिपक्षी दलका सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए । प्रदेश राजधानीको टुङ्गो लगाउन बनेको विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्लाबाट सदस्य थप गर्ने चलखेल भएको भन्दै प्रतिपक्षी दल काङ्ग्रेसका सदस्यहरुले बैठकमा विरोध गरेका थिए । 

बैठकमा प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले सहमतिमा अघि बढ्न सरकारलाई सुझाव दिए । उनले भने, ‘बहुमतमा सरकार बनाउने हो, सहमतिमा सरकार चलाउनुपर्छ ।’ 

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जवाफ 

बैठकमा प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी प्रदेशको शान्तिसुरक्षा मजबुद रहेको बताए । 

शान्तिसुरक्षासम्बन्धी विषय प्रदेशसभाका सदस्यहरुले बैठकमा उठाएपछि जवाफ दिँदै उनले प्रदेशको सुरक्षामा सरकार गम्भीर रहेको धारणा राखे । 

बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा छलफलका लागि पेश गरे । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =