कञ्चनपुरमा एक व्यक्ति मृत फेला

राजविराज, ३२ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवा टोलमा एक जना आज मृत फेला परेका छन् ।स्थानीय ३२ वर्षीय धर्मेन्द्र मुखिया आफ्नै घरमा सुतिरहेको स्थानमा मृत फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बाढीपीडितलाई राहत वितरण 

सप्तरीका बाढीपीडितलाई विभिन्न संघसंस्थाले राहत वितरण गरेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित टिकुलिया टोलका बाढीपीडितलाई सप्तरी जिल्लाका कलाकारले मंगलबार राहत वितरण गरेका छन् । जननी फिल्म्स प्रालिद्वारा सोही ठाउँका ४५ जना बाढीपीडित परिवारलाई प्रति परिवार दुई किलो (भुजा)मुरही, एक किलो चिउरा, दुई प्याकेट चाउचाउ र दुई प्याकेट बिस्कुट उपलब्ध गराइएको बताइएको छ ।

नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्षसमेत रहेका जननी फिल्म्स प्रालिका प्रबन्ध निर्देशक श्यामसुन्दर यादव, प्रालिका अध्यक्ष नायिका डोली सरकार, गायिका अन्जु यादवसमेतले सो राहत वितरण गर्नु भएको हो । यस्तै, सप्तरीको कञ्चनरुप नगरपालिका–१ वैरवा निवासी मोहम्मद करिम शेखले व्यक्तिगततर्फबाट ६०० परिवारलाई राहत वितरण गर्नुभएको छ ।

उहाँले पीडित ६०० परिवारलाई प्रतिपरिवार चार किलो भुजा(मुरही), एक पेकेट दालमोठ, एक पेकेट नुनलगायतका सामग्री राहतको रुपमा वितरण गर्नुभएको हो । त्यस्तै, कञ्चनरुप नगरपालिकाका निमित्त कार्यकारी अधिकृत धीरेन्द्र यादवले कञ्चनरुप नगरपालिका १, २ र ३ का दलित बस्तीका १७० घर परिवारलाई मुरही, च्यूरा वितरण गरेको बताउनुभयो ।

त्यस्तै, सप्तरीको कृष्णा सवरण गाउँपालिका–५ स्थित कहर्वामा संघीय समाजवादी फोरम नेपालद्वारा ३० घर बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह, पूर्व जिल्ला सदस्य एवं कृष्णा सवरण गाउँपालिकाका अध्यक्षका उम्मेदवार हरिनन्दन साह, पूर्व जिल्ला सदस्य विजय चौधरी, वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार अभिनन्दन यादवलगायतकाले त्रिपाल, भुजालगायतका राहत सामग्री वितरण गर्नुभयो ।

यसैगरी रुपनी गाउँपालिका–६ ले तेरहौताका १३० घर र वडा नम्बर ५ को वडा कार्यालय र ड्रिम नेपालको संयुक्त सहयोगमा बसबिट्टीका १०० घर बाढीपीडितलाई मंगलबार राहत सामग्री वितरण गरेको जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *