बेलका नगरपालिकामा दाँतको उपचार निःशुल्क

 

असार ६, उदयपुर ।  उदयपुरको बेलका नगरपालिकावासीले निःशुल्क रूपमा दाँतको उपचार गर्न पाउने भएका छन् । बेलका घर भई काठमाडौं बस्ने युवाहरु आबद्ध बेलका विकास समाजले नगरपालिकाको केन्द्र रामपुरमा असार ७ गते (शनिवार) निःशुल्क दन्त शिविर संचालन गर्न लागेको हो ।  

शिविरका लागि काठमाडौंको ओम समाज डेन्टल हस्पिटलबाट चिकित्सकहरुको ६ सदस्यीय टोलीसँगै अत्याधुनिक उपकरण बेलका लगिने आयोजक बेलका विकास समाजका अध्यक्ष महेन्द्र थापाले जानकारी दिए । उनका अनुसार शिविरमा आवश्यकता अनुसार दाँत निकाल्ने, भर्ने, सफा गर्ने तथा परामर्श सेवा प्रदान गरिने छ । 

null

उदयपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सांसद डा. नारायण खड्काले दन्त शिविर उपयुक्त समयमा चलाउन लागेको भन्दै आयोजकलाई आगामी दिनमा पनि यस्ता सामाजिक काममा सकृय हुन युवाहरुलाई सुझाब दिए । बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले नगरवासीलाई आवश्यक सेवा समाजले प्रदान गर्न लागेको र बढी भन्दा बढी नागरिकलाई लाभान्वित गराउन नगरले पनि प्रयास गरिरहेको बताए । 

शिविरका लागि बेलका नगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गरेको उनले बताए । ॐ समाज डेन्टल हस्पिटलका संचालक डा. सुभाष घिमिरेले उदयपुर जस्तो ठाउँमा पूगेर आफ्नो हस्पिटलले सेवा प्रदान गर्ने अवसर पाएको र यसलाई प्रभावकारी बनाउन सबैखालको प्रयास गर्ने बताए । 

आयोजक बेलका विकास समाजका कोषाध्यक्ष बाबुराम खतिवडाले बेलकामा अहिले सम्म भएका कुनै पनि शिविर भन्दा बढी सेवा प्रदान गरिने भन्दै शिविरबाट ५ हजार नागरिकलाई सेवा दिने दाबी गरे । 

शिविर शनिवारमात्रै चल्नेछ । खतिवडाका अनुसार बेलकामा उपचार सम्भव नभए आर्थिक अवस्था कमजोर भएका विरामीलाई काठमाडौंसम्म पुर्याएर निस्शुल्क उपचार गर्ने व्यवस्था आयोजकले मिलाउने छ । बेलका नगरपालिका उदयपुरको पूर्वी भेगमा अवस्थित नगरपालिका हो । यो नगरपालिकामा ५२ हजार बढी जनसंख्या छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *