कोरोना सङ्क्रमितका कारण रोकियो जोरपाटी-सुन्दरीजल सडक

काठमाडौं। गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ। बन्दाबन्दीको एक महिनापछि सुरक्षा विधि अपनाएर पुनः शुरु भएको सडक निर्माण अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हलुका सवारी चालक पदमा कार्यरत ५८ वर्षीय स्थानीयवासीमा कोरोना पुष्टि भएपछि नगरपालिकाको वडा नं ४ सिल गरिएकाले रोकिएको हो।

सङ्क्रमितसँग सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण नगरेसम्म वडा नं ४ मा सडक बिस्तारको काम नगरिने वडाध्यक्ष श्रीकुमार श्रेष्ठले बताए। यही जेठ ६ गते नगरवासीमा कोरोना पुष्टि भएपछि धेरै ठाउँमा भइरहेको काम रोकिएको हो। वडा नं १ को केही भागमा भने पर्खाल लगाउने काम भइरहेको छ।

गत आर्थिक वर्षमै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक दायाँबायाँ घर भएका स्थानीयवासीले विरोध गरेपछि बिस्तार हुन सकेको थिएन। केन्द्रविन्दुबाट दायाँबायाँ ११११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो।

सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए।

सहमतिसँगै चालु आर्थिक वर्षको अन्त्यसम्म काम सक्ने गरी रु ५८ करोड लागतमा भइरहेको काम नसकिने भएको छ। बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाइए पनि विद्युत्को पोल, तारलगायत संरचना हटेको छैन। सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी श्याम तामाङले गुनासो गरे। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =