‘सांसद विकास कोषलाई परिमार्जन गरौं, बेइज्जत भयो’

काठमाडौं। जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सांसद विकास कोषले सांसदहरूको बेइज्जत भइरहेको बताएका छन्। सोमबार बसेको अर्थ समितिको बैठकमा डा. भट्टराईले ‘सांसद विकास कोष’ कार्यक्रम परिमार्जन गर्न सुझाव दिए। ‘अहिलेकै ढङ्गले नगरौं, सांसदको बेइज्जत हुने अवस्था आयो, यो कार्यक्रमलाई परिमार्जन गरौँ,’ उनले भने।
निर्वाचन प्रणालीमा परिवर्तन नल्याएसम्म अहिलेकै अवस्थामा सांसद विकास कोष खारेज गर्नु पक्षमा आफू नरहेको समेत उल्लेख गरे। तर निर्वाचन प्रणालीमा परिवर्तन नल्याए यस कोषमा परिमार्जन गर्न भने जरुरी भएको उनले बताए। डा. भट्टराईले अब बजेटमै प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा आयोजना छनोट गरी निर्वाचन क्षेत्रका नाममा बजेट राख्न सुझाव दिए।
उनले बजेट अगाडि सांसदको नेतृत्वमा सबै सरोकारवालासँग समन्वय गरी कार्यक्रम र आयोजना छनोट गर्ने पद्धति बसाउन आवश्यक रहेकोसमेत बताए। यसरी छनोट भएका कार्यक्रमका लागि बजेट राख्ने हो भने विवाद नहुने उनको भनाइ छ। पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले अहिलेको बजेटको मोडालिटी नै परिवर्तन गर्नुपर्ने सुझाव दिए।








