घर जान चाहनेका लागि आवश्यक प्रबन्ध मिलाउन माग

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले भारतीय सीमा क्षेत्रमा अलपत्र नेपालीहरूलाई स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ। आइतबार एक वक्तव्य जारी गरेर मसालले सीमामा अलपत्र नेपालीलाई स्वदेश प्रवेश दिन र घर जान इच्छुक काठमाडौंलगायत शहरी क्षेत्रमा रहेका मानिसलाई घर पुर्‍याउने व्यवस्था गर्न माग गरेको हो।

मसालका प्रवक्ता रामप्रकाश पुरीले विदेशमा रहेका नेपाली क्रमशः स्वदेश फर्काउन र देशभित्रै रोजगारीको दीर्घकालीन योजना बनाउन सरकारसँग आग्रह उक्त वक्तव्यमार्फत आग्रह गरे। विदेशमा रहेका नेपालीलाई कोरोना महामारीबाट जोगाउन कूटनीतिकमार्फत व्यवस्थापन गर्न जोड दिइएको छ।

वक्तव्य

कोरोना भाइरसको अवस्थामा विदेशस्थित नेपालीहरू वा भारतीय सीमा र नेपालभित्र विभिन्न स्थानहरूमा रोकिएर बसेका नेपालीहरुबारे पार्टीको नीति स्पष्ट गर्नका लागि यो वक्तव्य जारी गरिएको छ।

१. कोरोना भाइरसको आतङ्क, विश्वव्यापी आर्थिक मन्दीका कारणले रोजगारीको अवसरमा कमी र कैयौँ देशका सरकारहरूको अप्रवासीहरुलाई देशबाट निकाल्ने समेत नीतिहरूका कारणले भारत वा विदेशस्थित लाखौँ नेपालीहरू नेपालमा फर्केर आउने कुरा निश्चित छ ।

२. तत्काल सम्बन्धित देशहरूका सरकारहरूसित पहलकदमी गरेर विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकल अनुसार विदेशमा नेपालीहरू जहाँ छन् त्यहीँ व्यवस्था गर्न जोड दिने नीति अपनाउनुपर्दछ । तर अहिलेको लकडाउन अनिश्चित कालसम्म रहने छैन र त्यसपछि नेपालीहरू आफ्नो देशमा फर्कने क्रम बढेर जाने छ ।

३. त्यसरी नेपाल आउने नेपालीहरूको व्यवस्थापन वा रोजगारीका लागि सरकारले दीर्घकालीन योजना बनाउनुपर्दछ । त्यस प्रकारको योजना खास गरेर कृषिको उत्पादन र उद्योगधन्दाको विकासका लागि बनाउनुपर्दछ ।

४. तर विदेशस्थित नेपालीहरुबारे दीर्घकालीन रूपमा त्यस प्रकारको नीति अपनाए पनि अहिले भारतीय सीमामा रोकिएर बसेका नेपालीहरूलाई तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्नुपर्छ । ५ नं. प्रदेशमा त्यो कामको थालनी भएको छ र अन्यत्र पनि त्यो काम गरिनुपर्दछ ।

५. राजधानी वा अन्य स्थानहरूमा रोकिएका नेपालीहरूलाई आफ्नो गाउँघरमा जानका लागि आवश्यक व्यवस्था गरिनुपर्दछ । भारतीय सीमामा वा नेपालमा विभिन्न स्थानमा रोकिएका नेपालीहरूलाई कडाइपूर्वक स्वास्थ्य जाँच गरेर कोरोना भाइरस पोजेटिभ देखिएकाहरूलाई क्वारेन्टाइन राख्ने र अरूलाई होम क्वारेन्टाइन राख्ने व्यवस्था गरिनुपर्दछ ।

६. खाडीका देशहरूका विभिन्न सरकारहरूले करिब एक लाख नेपालीहरूलाई त्यहाँबाट निकाल्ने दबाब दिएको जानकारी त्यहाँका नेपाली राजदूतावासहरूद्वारा थाहा भएको छ । त्यसबारे सरकारले ठोस नीति अपनाउनु आवश्यक छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =