गण्डकी प्रदेशका पशुमा पूर्ण खोप अभियान

गण्डकी । पशुचौपायामा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ ।

गाईभैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पिपिआर र कुकुरलाई लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन भइरहेको हो ।

गत आवमा विभिन्न रोगविरुद्ध १८ लाख ९८ हजार तीन सय ९६ डोज खोप प्रदान गरिएको प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ ।

चालु आवमा प्रदेशका १० वटा स्थानीय तहलाई पशुमा पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने तयारी भइरहेको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले बताइन् ।

‘गाईबस्तुमा खोपको सुनिश्चिततासँगै दिगोपनाका लागि पूर्ण खोपयुक्त पालिका घोषणा गर्न लागिएको हो, यसका लागि कार्यक्रम तथा बजेट तर्जुमा भइसकेको छ’, उनले भनिन्, ‘८० प्रतिशत पशुचौपाया खोपको दायरामा आएमा त्यस्ता पालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्न सकिने व्यवस्था छ ।’

मन्त्रालयका अनुसार हाल प्रदेशका ७५ प्रतिशत पशुपालक किसानको घर गोठमा खोप सेवा पुगेको छ । विभिन्न रोग व्याधिका कारण पशुधनमा हुने क्षति रोक्न खोप अभियान सञ्चालन गरिएको हो । कुनै रोगले प्रकोपको रूपमा लिएमा रणनीतिक हिसाबले खोप अभियान सञ्चालन गरिएको वरिष्ठ पशु विकास अधिकृत डा शर्माले बताइन् । केही वर्षअघि गाईभैँसीमा लम्पी स्किन रोग फैलिएपछि प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा उक्त खोप लगाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seven =