बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

काठमाडौं । काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलसहतले सतर्कता तह पारे गरेकाले नदी तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

विभागका अनुसार गौरीघाटमा बागमती नदीको पानीको सतह दुई दशमलव ४१ मिटर पुगेको छ, जुन नदीको पानीको तह दुई दशमलव एक मिटरमाथि सतर्कता तह हो ।

नदीको बहाव बढ्दो क्रममा रहेकाले नदी आसपासका डुबान भइरहने क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीका अनुसार बागमती नदीको पानीको सतह दुई दशमलव सात मिटर पुगेमा खतरा तह पार गरेको मानिन्छ । ‘हाल नदीको बहाव बढिरहेको छ । गौरीघाट क्षेत्रमा बागमती नदीले सतर्कता तह पार गरिसकेको छ । नदी आसपासका डुबान हुने स्थानका बासिन्दाले सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउनुपर्छ’, उनले भने ।

विभागले नदी किनार, डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न, आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा विभागबाट जारी हुने पछिल्ला बाढी, पहिरोसम्बन्धी सूचना र चेतावनीलाई नियमित रूपमा पालना गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =