राज्य संरक्षित व्यक्तिहरुले मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैलाउने काम गरे: सांसद मल्ल

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रमेशकुमार मल्लले राज्य संरक्षण पाएकाहरुले नै मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैलाउने गतिविधि गरेको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मल्लले गणेश नेपाली प्रकरणलाई ओझेलमा पार्न सरकार संरक्षित व्यक्तिहरुले सडक जाम गर्ने, मिडिया तथा राजनीतिक नेतृत्वमाथि दबाब सिर्जना गर्ने काम गरेको दाबी गरे ।
उनले मिडिया हाउस अगाडि अवरोध हुने गरी राखिएका सवारीसाधनमाथि कडा कारबाही गर्न सरकारलाई आग्रह गरे । त्यस्ता सवारीसाधनलाई लाखौं रुपैयाँ जरिवाना गराउनुपर्ने र घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल छानबिन गरी कारबाही गर्नुपर्ने बताए ।
‘राज्य संरक्षित मान्छेहरुबाट न्युरोड लगायतका मुख्य सडकहरुमा दिनभरजसो सडक जाम गरियो, अवरोध गरियो । अस्तव्यस्त बनाइयो । हिजो मिडिया हाउसको अगाडि एकाबिहानै गाडीहरु तेस्र्याइयो । प्रमुख प्रतिपक्ष दलको नेताको घर खोज्दै गएर गाडी लिएर रोकेर जाने काम पनि भयो,’ उनले भने ।
सरकारले ठूलो जरिवानाको व्यवस्था गर्ने भने पनि व्यवहारमा सामान्य जरिवाना गरेर छोड्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाए ।
‘५ सयदेखि लाखौंको जरिवाना गर्छु भन्ने सरकारले आज ५ सयको चिट काटेर छोड्ने कुरा स्वीकार्य हुन सक्दैन । यस्ता गतिविधि गर्नेहरुलाई लाखौं जरिवाना तिराउनुपर्छ र गाडी जफत गर्नुपर्छ,’ उनले भने ।
सांसद मल्लले घटनाको योजना बनाउने र संलग्न व्यक्तिहरुको तत्काल छानबिन गरी कारबाही गर्न सरकारलाई सचेत गराए ।
उनले सरकारले सामान्य नागरिकको हितमा काम गर्न नसकेको आरोप पनि लगाए । सुकुम्बासी तथा गरिब नागरिकलाई सरकारले एकपछि अर्को पीडा दिने काम गरिरहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री साहले राष्ट्रियतासम्बन्धी दिएको अभिव्यक्ति हालसम्म नसच्याएको भन्दै पनि सांसद मल्लले आपत्ति जनाए ।








