अग्रपङ्क्तिमा काम गर्ने फोटो पत्रकारको सुरक्षाकेन्द्रित तालिम सम्पन्न

वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले फिल्ड रिपोर्टिङका क्रममा पालना गर्नुपर्ने सुरक्षा मापदण्ड, प्रदर्शन, द्वन्द्व तथा प्राकृतिक प्रकोपजस्ता आपत्कालीन अवस्थामा जोखिम मूल्याङ्कन, सचेतता र व्यक्तिगत सुरक्षा योजनाबारे प्रशिक्षण दिएका थिए

काठमाडौँ । फोटो पत्रकार (पीजे) क्लबले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घको सभा हलमा सञ्चालित तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ३० भन्दा बढी फोटो पत्रकारको सहभागिता रहेको थियो।

सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजित तालिममा अनुभवी प्रशिक्षक तथा विषय विज्ञहरूले जोखिमपूर्ण परिस्थितिमा सुरक्षित रूपमा काम गर्ने सीप, सुरक्षा उपाय तथा जोखिम व्यवस्थापनका विविध पक्षबारे प्रशिक्षण दिएका थिए।

इरानी प्रशिक्षक डा. बेहरु मोगद्दसीले राजनीतिक आन्दोलन, प्राकृतिक प्रकोप, महामारी, द्वन्द्वग्रस्त अवस्था, प्रदर्शन तथा अन्य संवेदनशील सामाजिक घटनाको प्रत्यक्ष र उच्च जोखिमपूर्ण परिस्थितिमा अग्रपङ्क्तिमा रहेर काम गर्दा फोटो पत्रकारले अपनाउनुपर्ने सुरक्षा उपायबारे प्रशिक्षण दिएका थिए।

वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले फिल्ड रिपोर्टिङका क्रममा पालना गर्नुपर्ने सुरक्षा मापदण्ड, प्रदर्शन, द्वन्द्व तथा प्राकृतिक प्रकोपजस्ता आपत्कालीन अवस्थामा जोखिम मूल्याङ्कन, सचेतता र व्यक्तिगत सुरक्षा योजनाबारे प्रशिक्षण दिएका थिए।

त्यस्तै, फोटो पत्रकार विकास कार्कीले प्रदर्शन, द्वन्द्व तथा संवेदनशील घटनाको रिपोर्टिङ गर्दा अपनाउनुपर्ने सावधानी, सुरक्षात्मक सामग्रीको प्रयोग, मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए।

फोटो पत्रकारका लागि लक्षित, व्यवस्थित र व्यावहारिक सुरक्षा तथा जोखिम व्यवस्थापनसम्बन्धी तालिम सीमित रूपमा मात्र उपलब्ध रहेको वर्तमान अवस्थामा यस तालिमले जोखिमपूर्ण परिस्थितिमा सुरक्षित रूपमा काम गर्ने सीप विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने पीजे क्लबले जनाएको छ।

दिनप्रतिदिन बढ्दो जोखिमपूर्ण वातावरण, प्राकृतिक विपत्ति तथा अन्य संवेदनशील घटनास्थलमा सबैभन्दा पहिले पुगेर काम गर्नुपर्ने फोटो पत्रकारहरूको सुरक्षा क्षमता अभिवृद्धिमा यस तालिमले महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास क्लबले व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + thirteen =