रुपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु

काठमाडौं । डिभिजन वन कार्यालय रुपन्देहीले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा फलफूल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रजातिका फलफूल तथा मसलाजन्य बिरुवा वितरण अभियान सुरू गरेको छ ।

सो कार्यालयले जिल्लावासीको मागलाई दृष्टिगत गरी आँप, लिच्ची, अमला, जामुन, अम्बा, तेजपत्ता, सहजनलगायत फलफूल तथा बहुउपयोगी बिरुवा निःशुल्क रुपमा वितरण सुरु गरेको हो । जिल्ला वन कार्यालय, रुपन्देहीका प्रमुख प्रवीण विडारीले यसअघिका वर्षमा जस्तै मनसुन सुरु भएसँगै स्थानीय तह, विद्यालय, सामुदायिक वन तथा विभिन्न सङ्घसंस्था र जिल्लावासीको मागअनुसार निःशुल्क रुपमा बिरुवा वितरण सुरु गरिएको बताए ।

प्रमुख जिल्ला वन अधिकृत विडारीले भने, “जिल्लावासीको मागअनुसार हामी आफैँले तयार गरेको बिरुवा बाँड्ने क्रम सुरु भएको छ ।  वितरण अभियान असार महिनाभरसम्म चल्नेछ । वन प्राविधिकको अगुवाइमा तयार गरिएका गुणस्तरीय एवं उन्नत जातका बिरुवा रोपी हेरचाहसहित लाभान्वित हुन अनुरोध छ ।”

वरिष्ठ वन अधिकृत हेमराज शाहीले मनसुन सुरु भएसँगै वन संरक्षणसँगै निजी तथा सार्वजनिक जग्गामा वृक्षारोपण विस्तार गरी जिल्लालाई हरभरा बनाउन, वातावरणीय सन्तुलन कायम गरी स्वच्छ तुल्याउन, अत्यधिक गर्मीबाट जोगाउन, जैविक विविधताको संरक्षण तथा पोषणयुक्त फलफूल उत्पादनमा सहयोग पुर्‍याउन बिरुवा वितरण अभियान सुरु गरिएको स्पष्ट गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 2 =