सरकार एमालेप्रति पूर्वाग्रही बनिरहेको छ : एमाले

काठमाडाैं । प्रतिपक्ष दल नेकपा एमालेले सरकार एमाले केन्द्रित भई पूर्वाग्रहपूर्ण ढङ्गले प्रस्तुत भएको निष्कर्ष निकालेको छ ।
मंगलवार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका उपमहासचिव लेखराज भट्टले बताए ।
उनकाअनुसार सरकार एमालेलाई केन्द्रित गरेर पूर्वाग्रहपूर्ण ढङ्गले प्रस्तुत भएको छ । सरकारका यी गतिविधिहरू उचित होइनन् ।
उनले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी गैर कानुनी र प्रतिशोधमूलक एवं पूर्वाग्रही भएको एमालेले निष्कर्ष निकालेको बताए । पार्टीको एक कार्यक्रममा सुर्खेतमा रहेका पौडेललाई कार्यक्रम स्थलबाटै पक्राउ गरी सार्वजनिक सवारीमार्फत काठमाडौं ल्याइएको थियो ।
जुन निकायको नामबाट गिरफ्तारी गरिएको हो, त्यसको कार्यक्षेत्रभित्र यो विषय नपर्ने पनि एमालेले बताएको छ ।
उनले भने, ‘आजको बैठकको मुख्य एजेन्डा एउटै थियो । हाम्रो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीको निष्कर्षमा यो गिरफ्तारी गैर कानुनी, प्रतिशोधमूलक र पूर्वाग्रही छ । हालका लागि सचिवालयको एउटै माग छ–उहाँको बिना सर्त रिहाइ हुनुपर्छ ।’
पार्टीले कानूनी लडाइँ लड्ने र अतिरिक्त आवश्यक कदमहरूबारे पनि पार्टीले समयानुकूल निर्णय गने बताएको छ ।









